काठमाडौं । घरमा बत्तीको झिलीमिलीले जोकोहीलाई छुट्टै आनन्दानुभूति गराउँछ । त्यसैले त गाउँमा बत्ती आउँदा सबै खुसीले रमाउँछन् । बत्तीले मानिसको दैनिकी नै परिवर्तन गराइदिन्छ । ढिकी, जाँतो चल्न बन्द हुन्छ । त्यसको ठाउँमा मिल, टेलिभिजन, कम्प्युटर, ल्यापटप, पंखाजस्ता सामग्रीले प्रवेश पाउँछ । यी सबै प्रयोग गर्दा जति आनन्द आउँछ, त्यति नै खतरा पनि हुन सक्छ । यदि बिजुलीलाई ठीकसँग प्रयोग गर्न जानिएन भने ठूलो क्षति पनि हुन सक्छ ।
चट्याङबाट जीवन क्षति, करेन्ट सट भएर आगलागी, मानवीय क्षति, टिभी जल्यो, ल्यापटप बिग्रियो आदि–इत्यादि सञ्चार माध्यममा आइरहने समाचार बन्ने गर्छन् । यसबाट बच्नका लागि इलेक्ट्रिीसम्बन्धी तालिम नै लिनुपर्छ भन्ने छैन । इलेक्ट्रिकसम्बन्धी सामान्य जानकारी वा सामान्य ज्ञान भए मात्र पनि धेरै ठूला क्षतिबाट बच्न र बचाउन सकिन्छ ।
अर्थिङको ज्ञान :
अर्थिङ विद्युत् जडान गरिने स्थानमा प्रयोग हुने आधारभूत सुरक्षा प्रणाली हो । यो सरकारको नियमानुसार अनिवार्य छ । सुरक्षाका लागि पनि अर्थिङको प्रयोग आवश्यक हुन्छ । त्यसैले नयाँ घर बनाउँदा घरको सुरक्षाका साथै मानवीय क्षति हुनबाट रोक्न र इलेक्ट्रिक सामान बचाउन पनि अर्थिङ राख्न कन्जुस्याइँ गर्नुहँुदैन । अर्थिङ मुख्य गरी तीन किसिमले राख्न सकिन्छ ।
साधारण अर्थिङ :
यसमा तयारी रडको प्रयोग गरिन्छ । यो विधि आर्थिक रूपले सस्तो पनि हुन्छ । जमिन खनेर चिसो भाग भेटिएपछि २ गुणा २ वा १ गुणा १ साइजको तामापाता राख्ने र कोइला राख्ने । त्यसमाथि ढिका नुन राख्ने र कोइला पनि राख्ने । यसलाई तामाको पातामा जोडिएको तारमार्फत घरको पर्खाललाई नछुने गरी माथि छतमा राख्नुपर्छ, जसलाई लाइटनिङ भनिन्छ । यसले चट्याङबाट सुरक्षा गर्छ ।
१५–२० फिट जमिनमुनि जीआई पाइप धस्याउने र अर्थिङ रड राख्ने । त्यसमा बजारमा पाइने केमिकल (पाउडर) पानीमा घोलेर पाइपमा छिराउने । यो विधि केही महँगो भने हुन्छ । तर, खाली जग्गा नभएका काठमाडौंका न्युरोड, असनजस्ता ठाउँका लागि यो प्रविधि उपयुक्त हुन्छ । अर्थिङमा राम्रोको हिसाबले नुन, कोइला प्रयोग विधि नै उपयुक्त मान्न सकिन्छ । तर, आर्थिक रूपमा भने रडको प्रयोग सुलभ पर्ने देखिन्छ ।
विशेषगरी मेसिनरी औजार र इलेक्ट्रिक सामान जोगाउन सहयोग गर्छ । साथै, ती उपकरणमा आउने करेन्टलाई रोक्ने कार्य गर्दछ र चिसो भएको समय करेन्ट लाग्नबाट बचाउँछ ।
लाइन भोल्टेज स्थिर राख्न र उपकरणमा अधिक भोल्टेज कल्ट्रोल गर्न मद्दत गर्छ । चट्याङ लाग्नबाट सुरक्षा प्रदान गर्छ ।
विद्युत् सप्लाइसम्बन्धी ज्ञान :
प्रायः नेपालमा विद्युत् जडान गर्ने मुख्य स्रोतको रूपमा विद्युत् प्राधिकरणले जडान गरिदिएको मिटर बक्सलाई नै विद्युत् सप्लाइ र कन्ट्रोलको रूपमा प्रयोग गरेको देखिन्छ । सबभन्दा खतराको घन्टी भनेकै यही हो । पहिलो कुरा, प्राधिकरणले उपलबध गराएको मिटर बक्स उसको अनुमतिबिना खोल्न मिल्दैन । यस्तो अवस्थामा यदि कतै करेन्ट सर्ट भयो या कुनै घरायसी सामग्रीमा क्षति पुग्यो भने मिटर बक्सको एमसीबीले काम गर्न सकेन भने त्यतिबेला ठूलो संकट आइलाग्न सक्छ । त्यो परिस्थितिलाई सम्हाल्नन सक्ने अवस्था आउन सक्छ । त्यसरी भवितव्यको रूपमा आउन सक्ने परिस्थितिलाई दृष्टिगत गरेर आफ्नो छुट्टै विद्युत् वितरण बोर्ड राख्नु अनिवार्य छ । यही बक्सबाट सम्पूर्ण क्षेत्रमा लाइन वितरण गर्नुपर्छ । यो बक्सबाट विद्युत् परिचालन गरिए निम्न फाइदा हुन सक्छन् :
आफ्नो सुरक्षाका लागि डीबी बक्सको प्रयोग उपयोगी हुने ।
करेन्ट सर्ट भएर क्षति हुने सम्भावना रहे बक्सबाट विद्युत् बन्द गर्न सजिलो हुने ।
आवश्यकताअनुसार पावर सकेट थपघट गर्न सकिने ।
विद्युत् खपतको आधारमा १ मिमिदेखि २.५ मिमिसम्मको तार प्रयोग गर्न सकिने ।
आवश्यकताअनुसार मिनिच्युर सर्किट ब्रेकर (एमसीबी) ६ एमपीदेखि १६ एमपीसम्मको प्रयोग गर्न सकिने र थपघट पनि गर्न सकिने ।
एउटै एमसीबीबाट धेरै पावर सकेट प्रयोग नगर्ने । एउटा पावर सकेटबाट उपरणको वाटअनुसार सकभर एउटा मात्र उपकरण प्रयोग गर्नु उपयुक्त हुन्छ ।
हाउस वायरिङसम्बन्धी सामान्य ज्ञान :
इलेक्ट्रिकल वायरिङ भनेको केबुल र तारसम्बन्धी उपकरण जडान गर्ने प्रक्रिया हो, जुन मुख्य वितरण बोर्डमा फ्युज, स्वीच, सकेट, लाइट्स, फ्यान आदि जडानका लागि उपयोगी संरचना हो । हाउस वायरिङ धेरै प्रकारका हुन्छन् । तर, साधारण घरका लागि वायरिङ मुख्य तीन किसिमका हुन्छन् ।
अन्डरग्राउन्ड वायरिङ, जसले तार प्वाइन्टसम्म पुर्याउन प्रयोग गरिन्छ ।
लिस्टिक वायरिङ, जसले पाइप नपुगेको स्थानमा तार जडान गर्दा तारलाई छोप्न प्रयोग गरिन्छ ।
क्यासिङ र क्यापिङ वायरिङमा विभिन्न बक्स समावेश गरिएको हुन्छ ।
इलेक्ट्रिसियन किरण चौधरीका अनुसार आफ्नो सुरक्षा मात्र होइन, भविष्यमा हुन सक्ने खतराबाट बच्नसमेत अर्थिङ र डीबी बक्सको प्रयोग अनिवार्य गर्नुपर्छ । थप खर्च गर्न कन्जुस्याइँ गर्दा भोलिका दिनमा हुन सक्ने संकटबाट बचाउन वा सुरक्षा कवच अर्थिङ र डीबी बक्सको प्रयोग गर्नैपर्ने उनको सुझाव छ ।