काठमाडौं । 'विश्व लगानीकर्ता सप्ताह २०२३' को अवसरमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सेबोनले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका लागि असोज १५ देखि २१ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता ‘परिवर्तित आर्थिक अवस्थाहरूमा लगानीकर्ताको लचिलोपन’ विषयमा हुनेछ ।
प्रतियोगिताका लागि विभिन्न सर्तहरू तोकिएको छ । प्रतियोगितामा सहभागी हुनेले कम्तीमा २ हजार शब्दको निबन्ध पठाउनुपर्नेछ । यसरी पठाइएको निबन्ध पठाउँदा अन्यत्र प्रकाशित नभएको र प्रकाशनको लागि पेससमेत नगरिएको हुनुपर्नेछ । प्रतियोगितामा मौलिक तथा अनुसन्धानात्मक निबन्धहरूलाई प्राथमिकता दिइने सेबोनले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ६५ हजार र दोस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।