निर्धन उत्थान लघुवित्तले गर्‍यो राहत अनुदान वितरण

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थामा आबद्ध ४ हजार ९० जना सदस्यलाई रू. २ करोड ४ लाख ५० हजार आर्थिक सहायता सहयोग गरेको जानकारी दिएको छ । वित्तीय सेवाका साथै विपन्न समुदायलाई लक्षित गरेर वित्तीय साक्षरता, शीप विकास तालीम, व्यावसायिक तालीम, उद्यमशीलता तालीम लगायत गैरवित्तीय सेवा प्रदान गर्दै आएको कम्पनीले बताएको छ । समूहमा आबद्ध भई व्यवसाय सञ्चालन गर्ने क्रममा दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका सदस्यलाई संस्थामा रहेको ग्राहक संरक्षण कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट आर्थिक राहत तथा अनुदान सहयोग प्रदान गर्दै आएको संस्थाको भनाइ छ ।  आर्थिक वर्ष २०७७/७८ मा ७ हजार २५० जना सदस्यलाई रू. ७ करोड २५ लाख र आर्थिक वर्ष २०७८/७९ मा ३ हजार जना सदस्यलाई रू. १ करोड ८० लाख आर्थिक सहयोग वितरण गरिएको संस्थाले बताएको छ ।