हलो र घण्टी दायाँबायाँ राखेर ओली अझै बालकोटबाट शासन गर्न खोज्दैछन् : भुसाल

काठमाडौं : वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा भुसालले आफू समाजवादीमा समाहित भएको घोषणा गरे। १० बुँदे सहमति गरेर एमालेमा लड्न गएको भन्दै उनले आफूले नेतृत्वको तानाशाही प्रवृत्ति विरुद्ध निरन्तर लडेको बताए। १० बुँदे सहमति गलत नभएको तर  एमाले अध्यक्ष केपी ओलीका कारण लागू हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। ओली अझै एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन गर्न खोजिरहेक

सम्बन्धित सामग्री

दरबारका मूर्तिहरू

जसोतसो चुनाव भ्याइयो । सरकारहरू बने । अब नयाँ नयाँ मूर्तिहरू तयार हुँदै छन् । तिनै पुराना मन्दिरहरूमा । नयाँ बोतलमा पुरानो रक्सी भनेजस्तै पुराना मन्दिरहरूमा नयाँ नयाँ मूर्तिहरू विराजमान भइरहेका छन् । सरकारी मन्दिर सजाउने काम भइरहेको छ । नयाँ फर्निचर, नयाँ रङरोगन, नयाँ गलैंचा ता कि उनका गर्भगृहमा नयाँ मूर्तिहरू ल्याउन सकियोस् । लोकतन्त्रको सम्पूर्ण मन्दिरहरू नै मूर्तिहरूमाथि निर्भर छ । कोही घण्टी बजाइरहेका छन् । कोही हँसिया हथौडा त कोही कलम लिएर । कोही छाता लिएर सिंहासन घुमिरहेका छन् । मूर्तिहरूका आआफ्नै फूर्ति, तडकभडक आदि छन् । पहिले पुराना मूर्तिहरूमा धूपदीप नैवेद्य चढाइन्थ्यो ।  अहिले मूर्तिहरूमा अबिर, माला र खादा पहिर्‍याइन्छ । उनीहरूका लागि सरकारी पहिरन सिलाइन्छ । मानिसहरूले लगाइदिन्छन्, अझ भनौं सजाइदिन्छन् । उनीहरूका लागि गाडी, घोडा, बंगला, बैठके, हुक्के, ढोके भाट र द्वारपाले तथा नन्दीभृंगीहरू अर्थात् अंगरक्षक आदिको पनि व्यवस्था गरिन्छ । भक्तहरू खडा नै छन् उपासनाका लागि तम्तयार । काँपेको स्वरमा, लत्रेको भावमा । पेटभित्र दबाएर उभिएका छन् । केही बिन्ती मुद्रामा । जागीर, सरुवा, बढुवा, ठेक्कापट्टा अनगिन्ती प्रार्थनाका गीतहरू लिएर । आरती गाउँदै । आज दरबारको वा भनौं शासन सचिवालयको प्रत्येक कुनामा, बरण्डामा मूर्तिहरू उभिएका छन्, सोफा वा कुर्सीमा पल्टेका छन् । सचिवालयको पार्किङदेखि बाथरूमसम्म मूर्तिहरू छरस्पष्ट छन् । क्यान्टिनमा समोसामाथि सेल वा च्युरामाथि आलुकेराउको झोल वा खीर भकुर्दै गरेका मूर्तिहरू । प्रत्येक मूर्तिले आफ्नो आरतीको माग गरिरहेको देखिन्छ । आफ्नो पूजापाठ मागिरहेको छ । मूर्ति आफ्नो दर्शन दिएबापत सट्टामा केही पुष्प नैवेद्यको माग गर्दछ । खास कुरा यो छ कि लगातार माग्छ । फेरि फेरि मागि नै रहन्छ । अहिलेको मूर्ति आफै आफ्नो पूजा पनि गर्छ भुजा पनि गर्छ । अरूलाई पनि गराउँछ । आफै आफूलाई पूजा गर्नु गराउनु नयाँ मूर्तिको विशेषता हो । मूर्ति अन्तरयामी पनि छ । भक्तको हातमा कुन प्रकारको मोबाइल, घडी र पहिरन छ, ठ्याक्कै थाहा पाइहाल्छ । हातमा कुन कारको साँचो छ ? साँचो र मोबाइलको हुलिया देख्नेबित्तिकै पूजापाठको दर बताइन्छ । दर पहिल्यै तय छ । कुनै दिमागी खेल छैन । मूर्तिहरू केवल एक छैन, अनेक छन् । ठूला मूर्तिहरू । साथसाथै साना मूर्तिहरू । अझ साना छोटा होचा मूर्तिहरू । मूर्तिहरूका एक विशाल समूह सर्वत्र व्याप्त छ । प्रत्येक मूर्ति आफ्नो समूहको ठूलो मूर्ति हेरेर आफ्नो फूर्ति तय गर्छ । जो हिजो सामान्य हैसियतका थिए, आज उनीहरू नयाँ पहिरन लगाउनेमा पुगेका छन् । आज उनीहरू नेता हुँदै मन्त्री पद पाएर अहिले मूर्ति बनेका छन् । शासन सचिवालयको एउटा ठूलो कोठामा उनीहरू सुशोभित विराजमान छन् । उनका पण्डित पुजारी कीर्तन गरिरहेका छन् । जयजयकार लगाइरहेका छन् । आफ्ना लागि सिंगापुर, दुबई वा अमेरिकामा तेस्रो बंगला खरीद गर्न मूर्तिका गलामा मालाहरू पहिर्‍याइएका छन् । मूर्तिका घाँटीदेखि शिरसम्मै मालाहरूले भरिएका छन् । मूर्तिलाई अरू थुप्रै माला चाहिएको छ । हो, उसलाई मालाले पुरिनु छ । जति ठूलो माला त्यति महान् मूर्ति । पूजा अर्चना पनि चाहिएको छ । यसमा उमेरको कुनै बन्धन छैन । कुनै मूर्तिलाई नयाँ पुराना फाइल पल्टाउनु छ, कुनै कुनै मूर्तिलाई आफ्नो मुद्दा सल्टाउनु छ । मूर्तिको पनि आआफ्नै माग हुन्छ, गृहमा बस्ने नभए दरबारमै नबस्ने वा भौतिक यातायातमा बस्ने तर स्वास्थ्यमा नबस्ने वा कहाँ आफू प्रतिस्थापित हुने हो भनेर । मूर्तिसामु जो कोही पनि भक्त आउँछ, उसको अन्तरआत्माले उसलाई चिनिहाल्छ । बडो कुटिल र चलाख किसिमका छन् यी मूर्तिहरू । उसलाई यो थाहा हुन्छ कि कसले कतिपटक उसको परिक्रमा लगाइरहेको छ ? कसले कसरी कति चक्कर लगाइरहेको छ ? परिक्रमा र चक्करबाटै मूर्तिहरूले हिसाब गरिसकेका हुन्छन् । लोकतन्त्रको सम्पूर्ण मन्दिरहरू नै मूर्तिहरूमाथि निर्भर छ । कोही घण्टी बजाइरहेका छन् । कोही हँसिया हथौडा त कोही कलम लिएर । कोही छाता लिएर सिंहासन घुमिरहेका छन् । शंखनाद भइरहेकै छ । मुख्य मूर्तिको वरिपरि सानातिना मूर्ति शोभायमान छन् । कोही मूर्तिहरू रुखमुनि तपस्या गरिरहेका छन् अझ ठूलो मूर्ति बन्न । कोही मूर्तिहरू सूर्यलाई अघ्र्य दिइरहेका छन्, अझ धेरै मूर्ति बन्न र बनाउन । मूर्तिहरू जो विभागीय प्रमुख, उपप्रमुख, अफिसर वा हाकिमहरूका रूपमा विराजमान छन् । मूर्तिहरू जो पियनको रूपमा घुसेर खरदार सुबेदार हुँदै अफिसर बन्न सफल छन् । मूर्तिहरू जो पहरेदार बनेर आउँछन् र महाराज बनेर अडिन्छन् । मूर्तिहरू बेलाबेलामा सदाचारको खुब नाटक गर्छन् । यो नाट्यकर्ममा प्रत्येक मूर्ति अन्तत: पत्थरकै बन्न पुग्छ । सर्वसाधारणलाई भोको पेटमा अझ पखाला चल्छ । तर माग्ने मुद्रामा ऊ शंख फुकि नै रहन्छ । शासन सचिवालयमा पसारिएका मूर्तिहरू आफ्नो पूजापाठ त मागिरहन्छन् नै । उनीहरू परिक्रमा र परिभ्रमणबाट प्रशन्न भइरहन्छन् । प्रत्येक व्यक्तिलाई कमसेकम बीस–पचास चक्कर त गराउँछन् यी मूर्तिहरूले । त्यसो त मन्दिरहरूमा पनि मूर्तिहरू हुन्छन्, अदालतमा पनि मूर्तिहरू हुन्छन् । मन्दिरका मूर्तिहरूले माग्दैनन् र चढाएको पनि खाँदैनन् । मन्दिरका नाममा भक्तहरूले र अझ पूजारीहरूले चैं खान्छन् । अदालतका मूर्तिहरू कोही खाने हुन्छन् त कोही नखाने हुन्छन् । कोही खान नपाउने हुन्छन््, कोही खान नसक्ने हुन्छन् । अनि कोही चाहिँ उज्यालोमा नखाने तर दिउँसै अँधेरो पारेर खाने हुन्छन् । कोही त आमाको रगतको कसम खाएर खान्न भन्दा भन्दै झनै बढी खाने हुन्छन् । तर दरबारका मूर्तिहरू नखाने कमै हुन्छन् । हो, दरबारका मूर्तिहरू नखाने कमै हुन्छन् ।