स्थानीयले उपभोक्ता समितिमार्फत भएको कामप्रति चासो नदेखाउँदा मोरङको मिक्लाजुङ गाउँपालिका–५ को सोल्टी खोलाको पुल साडे तीन वर्ष यता अलपत्र अवस्थामा छ ।
सोल्टी खोलाको आरसीसी पुलले उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्छ । वर्षायाममा खोला तर्दा सोल्टी खोलाले धेरै मानिसलाई बगाइसकेको छ । हरेक निर्वाचनमा चुनावी मुद्दा बन्ने गरेको सोल्टी खोलाको पुल त्यस क्षेत्रका लागि विकासको मेरुदण्ड मानिन्छ । प्रदेश सरकार गठन भएको केही महिनापछि तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गर्नुभएको थियो । स्थानीय तीनवटा सामुदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रारम्भिक चरणमा ७० लाख रुपियाँको लागत बजेट तयार भएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यका अनुसार गाउँपालिकाले ३० लाख र वडा नं ५ को वडा कार्यलयबाट पाँच लाख विनियोजन गर्ने कार्यक्रम तय भएपछि पुल निर्माण सुरु भएको हो ।