वीउवा संघको सहयोगमा नारायणी अस्पतालमा बन्यो ३० शय्याको पीआईसीयू

जेठ २३, वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघ (वीउवा संघ)को आर्थिक सहयोगमा वीरगञ्जको नारायणी अस्पतालमा ३० शय्याको बाल सघन चिकित्सा ईकाइ (पीआईसीयू) तयार भएको छ । नारायणी अस्पतालले उपलब्ध गराएको भवनमा वीउवा संघले पीआईसीयू निर्माण गरेको हो ।  नवनिर्मित पीआईसीयूको आइतवार उद्घाटन गरिएको छ । पीआईसीयू उद्घाटनको अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोरोना महामारी नियन्त्रणमा संघको सहयोगको प्रसंशा गरे । पीआईसीयू निर्माणमा सहयोग गरेर संघले सराहनीय काम गरेको भनाइ प्रमुख जिल्ला अधिकारी घिमिरेको थियो ।  संघका अध्यक्ष सुवोधकुमार गुप्ताले विज्ञहरूले कारोनाको तेस्रो भेरियन्ट आउने चेतावनी दिइरहेको र त्यसबाट बालबालिका बढी प्रभावित हुने बताएकाले बालबालिकाका लागि आईसीयू तयार पारिएको बताए । सरकारले अस्पतालमा निर्माण गरिने आईसीयूमध्ये २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन पनि दिएको छ ।   अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले पीआईसीयू निर्माणले बालबालिकाको उपचार सहज हुने विश्वास व्यक्त गरे । नारायणी अस्पतालमा यो सहित अब आईसीयू शय्या १५५ पुगेको छ ।  कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेशप्रसाद लाठले वीरगञ्जको निजी क्षेत्रले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको स्मरण गरे ।