भारतीय दूतावास र युवा उद्यमी मञ्चबीच सहकार्य

काठमाडौं । नेपाल र भारतका स्टार्टअपहरूलाई एकै ठाउँमा ल्याएर सञ्चालन गर्न भारतीय दूतावास र नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्चबीच सहकार्य हुने भएको छ । दूतावास र मञ्चले मंगलवार ‘भारत–नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गर्दै सहकार्य गर्ने जानकारी गराएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको आतिथ्यमा भएको कार्यक्रममा नेपाल र भारतका स्टार्टअपहरूबीच सम्पर्क विस्तार गर्नेबारे छलफल गरिएको थियो । भारतीय स्वतन्त्रताको ७५ वर्ष र नेपाल–भारत कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–ट्वेन्टीको अध्यक्षता र ‘जी–ट्वेन्टी फाइनान्स ट्र्याक’मा नेपालको सहभागिताबारे चर्चा गरे । कार्यक्रममा गभर्नर अधिकारीले डिजिटल नेपालको विषयमा आफ्ना धारणा राख्दै आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रूपमा मनाउने तयारी गरिएको बताए । अन्तरदेशीय भुक्तानी कारोबार तथा क्यूआर भुक्तानी कारोबारलाई वित्तीय सहकार्य क्षेत्रको रूपमा पहिचान गर्दै नेपाल–भारत वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले ‘नेपालमा स्टार्टअप अवसरहरू’ विषयमा आफ्ना धारणा राखे । स्टार्टअप इन्डियाका अनुभव कुमार दासले ‘स्टार्टअप इन्डिया स्किम’ विषयमा प्रस्तुति दिएका थिए । दुईपक्षीय छलफल नेपाल र भारतबीच ई–कमर्श तथा फिनटेक क्षेत्रका अवसरबारे केन्द्रित रहेको बताइएको छ ।