पर्सा, बारा र मकवानपुर तीन जिल्लाको सीमा क्षेत्रमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो । पहिले वन्यजन्तु आरक्षको रूपमा मात्रै रहेको आरक्ष क्षेत्र अहिले राष्ट्रिय निकुञ्जमा परिणत भएको छ । निकुञ्जमा परिणत भएसँगै पर्यटकीय गन्तव्यको रूपमा पनि विकास हुँदै गएको छ ।
केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्ज बाहेक नजिकमा पर्यटकीय गन्तव्य स्थल नरहेको प्रदेश नम्बर २ मा पर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्य स्थलका रूपमा विकसित हुँदै गएको हो । नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले विक्रम संवत् २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको चार सय ९९ वर्ग किलोमिटर जंगल क्षेत्रलाई पर्सा वन्यजन्तु आरक्षको रूपमा स्थापना गरिएको थियो ।
२०७२ सालमा भने बारातर्फको एक सय २८ दशमलव ३९ वर्ग किलोमिटर राष्ट्रिय वन क्षेत्रलाई पनि तत्कालीन पर्सा वन्य जन्तु आरक्षमा समाहित गरेपछि अहिले यसको कुल क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर छ । तत्कालीन पर्सा वन्य जन्तु आरक्षलाई २०७४ साल वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले पर्सा राष्ट्रिय निकुन्जका रूपमा परिणत गर्ने निर्णय गरेपनि गत असार १९ गते राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र पर्सा वन्य जन्तु आरक्ष कानुनी रूपमा पर्सा राष्ट्रिय निकुन्जका रूपमा परिणत भएको हो । राष्ट्रिय निकुञ्जमा परिणत भएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अवलोकन र घुमफिरका लागि खुला गरिएको छ ।
पर्यटकहरूका लागि खुला गरेपछि अहिले पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य बनेको छ । परिवारसहित घुम्न निस्कने ठाउँको अभाव भइरहेका बेला निर्माण भएका रिसोर्टले त्यसको आवश्यकता पूर्ति गर्ने गरेको छ भने करोडौँ रुपैयाँको लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेको छ । पर्सा तथा बारा जिल्लाको सीमा पर्ने निकुञ्जमा पर्याप्त मात्रामा पूर्वाधार रहेकाले अब यसको दिनचर्या बदलिँदो अवस्थामा रहेको छ ।
६ सय २७ वर्ग किमीमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जंगल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा वफर जोन र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर रहेको छ । निकुञ्जलाई रौतहटसम्म विस्तारको लागि पनि माग भइरहेको छ । रौतहटसम्म पनि चारकोशे झाडीले छोएकोले रौतहटसम्म निकुञ्ज विस्तारको माग भएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ । पर्यटनको लागि पूर्वाधारहरूको पनि आवश्यकता हुने भएकोले अहिले निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी साना होटलदेखि ठूला र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरू पनि खुल्न थालेको छ । त्यसले त्यो क्षेत्रमा पर्यटक गतिविधिलाई पनि बढाएको छ ।
निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन हलखोरिया दह, कामिनी दह, माया मन्दिर, दूग्धेश्वर महादेव मन्दिरका साथै निकुञ्जभित्र पर्यटकका लागि निश्चित शुल्क लिएर पर्सा राष्ट्रिय निकुन्जभित्र रहेका विभिन्न महत्वपूर्ण तथा दुर्लभ वन्यजन्तु र चराचुरुंगीहरू अवलोकन गर्नका लागि खुला गरिएको छ । पर्सा राष्ट्रिय निकुन्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा ५० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि पाँच सय रुपैयाँमा १३ प्रतिशत भ्याट थप तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँमा भ्याट थप गरी शुल्क निर्धारण गरिएको छ ।
पर्सा राष्ट्रिय निकुन्जमा दुर्लभ वन्यजन्तुहरू पाटे बाघ, रैथाने हात्ती, एक सिंगे गैंडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरी गाईका साथै झण्डै दुई सय प्रजातिका चराचुरुंगीहरू छन् । यस्तै निकुञ्जभित्र कामिनी दह, हलखोरीया दह र लौकी दह गरी तीन वटा प्राकृतिक मनोरम तालहरू पनि छन् । पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुन्जको जंगलभित्र पर्ने मकवानपुरको प्रतापपुर, पर्साको रातोटे र रामभौरी भाथा, बाराको हलखोरियामा गरी एक दर्जन भ्यू टावरहरू पनि बनाइएको छ । यसैगरी पर्यटकहरूलाई जंगल सफारी गर्न निकुन्जको हात्तीसारमा एक दर्जन हात्तीहरू पनि राखिएको छ । निकुन्जभित्र फायर लाइन पनि भएकाले हात्तीको जंगल सफारी गर्न नचाहने पर्यटकहरूले आफ्नो निजी सवारीमा सवार भई जंगल सफारी गर्न सक्ने व्यवस्था पनि मिलाइएको प्रमुख संरक्षण अधिकृत कार्यालयले जनाएको छ ।
बाराको आधाभारमा रहेको पर्सा राष्ट्रिय निकुन्जको कार्यालयका अनुसार पर्यटकहरूका लागि खुल्ला गरिएयता मंसिर मसान्तसम्म स्वदेशी तथा विदेशी गरी ३४ जना पर्यटकले निकुञ्जको भ्रमण र अवलोकन गरेका छन् । मंसिर मसान्तसम्म नेपालका २१, सार्क मुलुकका पाँच र अन्य मुलुकका सात जना पर्यटकहरूले निकुन्जको अवलोकन भ्रमण गरेका ह्ुन् । यस्तै मंसिर मसान्तसम्म १९ जना पर्यटकले हात्तीमा चढेर हात्ती सफारी पनि गरेको पर्सा राष्ट्रिय निकुन्जको कार्यालयका रेन्जर विनय झाले जानकारी दिए । उनीहरूबाट प्रवेश शुल्क र हात्ती सफारी शुल्क गरी २५ लाख २६ हजार रुपैयाँ राजश्व संकलन पनि भएको झाले बताए ।
आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य, जैविक विविधताले भरिएको वनजंगल, जनावर हेर्न प्रत्येक वर्ष एक हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए । निकुञ्जभित्र ऐतिहासिक स्थल, दुर्लभ वन्यजन्तु, रमणीय तथा प्राकृतिक दृश्य हेर्न आउने विदेशी पर्यटकका लागि प्रतिव्यक्ति भ्याटसहित एक हजार, हात्ती चढेको ६ सय ५० रुपैयाँ तथा नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ र हात्ती चढेमा ६ सय ५० रुपैयाँ तोकिएको छ ।
पर्यटनसँगै आर्थिक समृद्धिको सम्भावना
पर्सा राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर २ को प्रमुख पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना रहेको निकुञ्ज हो । पर्यटनको सम्भावनाले नै निकुञ्ज बनाइएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । उनले भने, “पहिले वन्यन्तु आरक्ष हुँदा महत्व पनि भएन । प्रचार प्रसार पनि भएन । यहाँ पाइने वन्यजन्तु र प्राकृतिक सम्पदाले यसलाई महत्व दिने भएकोले नै राष्ट्रिय निकुञ्जमा परिणत गरेर प्रचार प्रसार पनि गरिरहेका छौं ।” उनका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज पर्यटन व्यवसायको विकास गरी आर्थिक समृद्धि हुने एकदमै उपयुक्त स्थानमा रहेको छ ।
उनले भने, “पहुँचको दृष्टिले हेर्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने पर्यटकहरूलाई पर्साको दूरी सबैभन्दा नजिक हुन्छ । यो एउटा सवल पक्ष हो । अर्को छिमेकी देश भारतको सीमा नजिकै भएकोले भारतीय पर्यटकहरू पनि यहाँका बाघ र हात्ती हेर्न उत्सुक हुन्छन् । त्यसैले पनि पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय र पर्यावरणीय हिसाबले एकदमै अनुकुल स्थानमा रहेकोले यसको पर्यटकीय गन्तव्य सम्भावना प्रचुर रहेको छ ।” बाराको निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणधिन निजगढ काठमाडौं द्रुत मार्गले पनि पर्यटकको पहुँचमा एकदमै नजिक रहेको, यहाँबाट नजिकै एकदमै चिसो स्थान मकवानपुरको दामन पनि छ ।
सम्भावना नै सम्भावना बोकेको यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनका लागि नै निकुञ्ज बनाउने निर्णय भएको प्रमुख आचार्यको भनाइ छ । उनी भन्छन्, “पर्यटकले जनावर र प्रकृति मात्रै हेर्दैनन् । सांस्कृतिक, धार्मिक, परम्परागत संस्कृति पनि रुचाउँछन् । प्रदेश नम्बर २ मा रहेका सबै धार्मिक, सांस्कृतिक, तथा पर्यटकीय क्षेत्रलाई हब बनाएर हे¥यौं भने यसले आर्थिक विकास र समृद्धिमा कायापलट ल्याउँछ ।” यस क्षेत्रमा रहेका प्राकृतिक र वन्यजन्तु सम्पदालाई पर्यापर्यटन मार्फत पर्यटकहरूलाई अवलोकन गर्ने अवसर प्रदान गर्ने र पर्यटकहरूलाई आकर्षण गर्ने र पर्यटकहरूबाट संकलन भएका आयस्रोतबाट यस क्षेत्रको आर्थिक समृद्धिलाई पनि सँगसँगै लैजाने उद्देश्य रहेको प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ ।
निकुञ्जमा आउने पर्यटकहरूबाट असुल गरिने शुल्कले स्थानीय स्तरको विकासका लागि पनि सहयोग पुग्ने प्रमुख संरक्षण अधिकृत आचार्य बताउँछन् । “निकुञ्जको आम्दानी बढाउनु भनेको स्थानीय जनताको पनि प्रत्यक्ष रूपमा आम्दानी बढाउनु हो,” उनी भन्छन्, “मध्यवर्ती समितिलाई उपलब्ध गराउने र त्यो रकम बजेट कार्यक्रमबाट सानातिना सामुदायिक विकास कार्यक्रम गर्ने गर्नुपर्छ ।” संरक्षणको लागि जनचेतना अभिवृद्धि गर्नेलगायत क्षेत्रमा लगानी गर्ने योजना निकुञ्जको रहेको छ । निकुञ्ज आउने पर्यटकहरू बढे खाने, बस्ने, घुम्ने, गाडी, व्यवसाय, हवाई टिकटमा वृद्धि हुन सक्ने सम्भावना छ । तत्काल छुटै नियमावली नभए पनि पछिल्लो बनेको बाँके राष्ट्रिय निकुञ्जको लागि निर्माण गरिएको नियमावलीको आधारमा नै शुल्कको निर्धारण गरिएको छ ।
राजमार्ग निकुञ्जका लागि समस्या
निकुञ्जको नजिक रहेको विकास पूर्वाधारहरू सडक, विद्युत, खानेपानी, विद्यालय, तथा राजमार्गले भने निकुञ्जमा रहेका वन्यजन्तुलाई असर पारेको छ । निकुञ्जको कार्यालय नजिकैबाट पास हुने त्रिभुवन राजपथ पनि निकुञ्जको लागि समस्या रहेको छ । निकुञ्जमा रहेका वन्यजन्तु आवतजावत गर्ने बाटोबीचबाटै राजमार्ग पनि रहेकोले सडकमा गुड्ने, सवारी साधनले वन्यजन्तुलाई अवरोध गर्ने तथा कहिलेकाहीँ वन्यजन्तुले पनि अवरोध गर्ने हुँदा दुवै पक्षको द्वन्द्वले खतरा रहेको निकुञ्जको भनाइ छ । प्रमुख संरक्षण अधिकृत आचार्य भन्छन्, “संरक्षण र विकासलाई सँगै लिएर जान सकेनौं भने दिगो विकास हँुदैन । जनावरहरूलाई सहज रूपमा आवतजावत गर्न दिनका लागि वैकल्पिक बाटोको रूपमा फ्लाईओभर बनाउन सुझाव दिएका छौ ।”