काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा विद्युत विक्रीबापत रू. १ अर्ब २१ करोडभन्दा बढी आम्दानी गरेको छ ।
यो आम्दानी अघिल्लो आवको चौथो त्रैमासको तुनलामा १ दशमलव ३४ प्रतिशत कमी आएको हो । सो अवधिमा कम्पनीले विद्युत विक्रीबापत रू. १ अर्ब २३ करोड आम्दानी गरेको थियो । त्यस्तै कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ३३ दशमलव ५५ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ६१ करोड ९ लाख नाफा कमाएकोमा गत आवमा रू. ४० करोड ५९ लाखमा झरेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. २४ करोड ७७ लाख रहेकोमा गत आवमा बढेर रू. २९ करोड ६३ लाख पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९६ करोड छ भने कम्पनीले रिटेन्ड अर्निङमा रू. १ अर्ब २० करोडभन्दा बढी सञ्चिति गरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ०५ पैसा रहेकोमा गत आवमा २० रुपैयाँ ६३ पैसा कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव २८ र मूल्य आम्दानी अनुपात ४८ दशमलव २३ गुणा छ ।