काठमाडौं। नयाँ फसल बजारमा आउन थालेसँगै अलैंचीको मूल्य दोब्बरभन्दा माथि पुगेको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै मूल्य एकाएक बढेको हो । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य यस वर्ष ६० हजार रुपैयाँसम्म पुगेको छ ।
गतवर्ष जेजे (१ नम्बर) अलैंचीको बजारमूल्य प्रतिमन २७ हजार रुपैयाँ थियो । उत्पादन घट्ने देखिएपछि यस वर्ष यसको मूल्य प्रतिमन ६० हजार रुपैयाँ पुगेको छ । गतवर्ष एसडी (२ नम्बर) अलैंची प्रतिमन २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस वर्ष एसडी ५८ हजार रुपैयाँमा किनबेच भइरहेको छ । त्यसै गरी चलनचल्ती (३ नम्बर) अलैंची गतवर्ष मनको २३ हजार रुपैयाँमा कारोबार भएकोमा यस वर्ष ५६ हजार रुपैयाँ मूल्य कायम भएको नेपाल अलैंची व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका उपाध्यक्ष सुवास भट्टराई यस वर्ष अलैंचीमा फूल फुल्ने समयमा पहिले खडेरी र त्यसपछि असिना पानीले चुट्नुका साथै पूर्वी पहाडी जिल्लाका केही अलैंची खेतीमा पहिरोले क्षति पुर्याएपछि उत्पादन घट्ने निश्चित भएको बताउँछन् । उनका अनुसार यस वर्ष अलैंची उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा ६ हजारदेखि ८ हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको तथ्यांक छ । पछिल्लो समय नेपालमा अलैंची उत्पादन हुने क्षेत्रफलसमेत घट्दो क्रममा छ ।
आर्थिक वर्ष (आव) २०७५/७६ मा २० हजार ८ सय ८० हेक्टरमा अलैंची खेती गरिएको थियो । उत्पादनको राम्रो मूल्य नपाएपछि त्यसपछिका वर्षमा किसानले यसको खेती क्रमश: घटाउन थाले ।
आव २०७६/७७ हुँदा अलैंची खेतीको क्षेत्रफल घटेर १६ हजार ५ सय ६५ हेक्टर कायम भएको थियो । आव २०७७/७८ मा त्यो पनि घटेर १५ हजार ६ सय ६८ हेक्टर कायम भयो । आव २०७८/७९ मा भने खेती हुने क्षेत्रफल केही बढेको देखिन्छ । सो वर्ष १७ हजार १५ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको थियो ।
नेपाली अलैंचीले गतवर्ष हलाल सर्टिफिकेट पाएसँगै मुस्लिम बाहुल्य खाडीका धनी मुलुकमा निर्यातको बाटो खुलेको थियो । यसअघि पाकिस्तान र भारतीय बजारमा सीमित नेपाली अलैंचीका लागि कतारलगायत अन्य खाडी मुलुकमा बाटो खुले पनि व्यवसायीले ती देशमा निर्यात गर्न सकेका छैनन् । खाडी मुलुकमा पहुँच नपुग्दा निर्यात गर्न नसकिएको व्यवसायी बताउँछन् ।
अलैंची व्यवसायी दिनेश अधिकारीका अनुसार खाडी मुलुकमा निर्यातको ढोका खुले पनि नेपालको भूपरिवेष्टित अवस्थितिले गर्दा निर्यात गर्न समस्या छ । नेपालले निर्यात गरे पनि सम्बद्ध देशमा पुग्न लामो समय लाग्ने भएकाले निर्यातकर्ता व्यापारीले आँट गर्न सकेका छैनन् । यसले गर्दा नेपाली व्यवसायीले त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ । अहिले पनि नेपाली व्यवसायीले भारतमा निर्यात गर्ने र भारतीय व्यापारीले खाडीमा निर्यात गर्ने गरेको अधिकारीले बताए ।