अर्घाखाँचीमा भागरथी बलात्कार हत्याको विरोधमा सभा

बसन्त खड्का/अर्घाखाँची । बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले चुत्राबेसीमा विरोधसभा सम्पन्न गरेको छ । राजमो अर्घाखाँचीको आयोजनामा माघ २६ गते चुत्राबेसीको भक्तिटोला चोकमा विरोध कार्यक्रम गरिएको हो । भागरथी भट्टको हत्यारा र बलात्कारीलाई जतिसक्दो छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै जनमोर्चाको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत अर्घाखाँचीमा पनि विरोध कार्यक्रम गरिएको हो । विरोधसभामा बोल्दै राष्ट्रिय जनमोर्चा र्घाखाँचीका जिल्ला उपाध्यक्ष गोपाल पौडेलले भागरथीको बलात्कारी र हत्यारालाई छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको थियो । त्यस्तै अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले हत्यारालाई कारबाहीको माग गर्दै गरिने प्रदर्शनमा हुने गरेको प्रहरी दमनको घोर विरोध गर्नुभएको थियो । कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा (मसाल) अर्घाखाँचीका प्रवक्ता पशुपति ढकाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कल्पना पोख्रेल, अखिल नेपाल युवक सङ्घका जिल्ला कोषाध्यक्ष बसन्त खड्कालगायतको उपस्थिति थियो ।