काठमाडौं (अस) । सरोकारवालाहरूले नेपालमा ग्रीन एसएमई फाइनान्सिङको क्षेत्रमा उच्च सम्भावना भएको बताएका छन् । नेपाल इकोनोमीक फोरमले मंगलवार आयोजना गरेको ‘ग्रीन एसएमई फाइनान्सिङ इन नेपाल’ विषयक छलफल कार्यक्रमा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
नेपालमा ग्रीन एसएमई वित्तीय विकासका लागि क्षमता तथा यससम्बन्धी नीति निर्माणमा पनि काम गर्नुपर्ने उनीहरूको भनाइ छ । यसका लागि सरकारले नियमावली बनाउनु प्रशंसायोग्य रहेको उनीहरूले बताए । तर, उक्त नियमावलली कार्यान्वयन गर्न असफल भएको बिजनेश अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिद्धान्त राज पाण्डे बताए । यस्ता नीतिहरू कार्यान्वयन गर्न सरकारले सबैसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ । ग्रीन फाइनान्सको लक्ष्य कार्बन उत्सर्जन घटाउनु र स्रोतको दक्षता बढाउनु रहेको उनले बताए ।
यसैगरी बेलायती दूतावासका निजीक्षेत्र विकास सल्लाहकार चाँदनी सिंहले नेपालमा हरित वित्तलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् । त्यसैगरी हरित वित्तको प्रवद्र्धन र कार्यान्वयनका लागि नेपालले अन्य देशको अनुभवबाट सिक्नुपर्ने बताइन् ।
एशिया प्यासिफिक ग्रीन क्लाइमेट फन्डकी क्षेत्रीय प्रबन्धक अनुपा रिमाल लामिछानेले सरकार र सरोकारवालाको संयुक्त सहकार्यमा ग्रीन फाइनान्सको लक्ष्य निर्धारण गर्नुपर्ने बताइन् । यस्तै, ग्रीन फाइनान्सिङ आयोजनाका लागि विदेशी लगानी ल्याउने सम्बन्धी नीति कार्यान्वयन गर्न सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, विश्व बैंक नेपालका प्रमुख निजीक्षेत्र विशेषज्ञ पिटर मौस्लीले जलवायु वित्तमा धेरै पहल गरिएको बताए । तर, गर्नुपर्ने काम धेरै रहेको उनको भनाइ छ । उक्त कार्यक्रमलाई फोरमका अध्यक्ष सुजीव शाक्यले सहजीकरण गरेका थिए ।