महालक्ष्मीको वार्षिकोत्सवमा संस्कृतिविद् जोशी सम्मानित

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको २८औं वार्षिकोत्सवको अवसरमा संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । २७ वर्ष पूरा गरी २८औं वार्षिकोत्सव मनाइरहेको बैंकले जोशीलाई सम्मान गरेको हो । जेठ महीनालाई वार्षिकोत्सव महीनाको रूपमा मनाइरहेको बैंकले  नेपाली संस्कृति, पुरातत्त्व र लोकसंस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै जोशीलाई उनकै निवास बखुम्बहाल ललितपुरमा सम्मान गरिएको बताएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले अभिनन्दन गरेका थिए । अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको बताए । २८औँ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ ओटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम गरिरहेको बताएको छ । बैंकले ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ नाराका साथ हरेक शाखामा वृक्षरोपण समेत गरिरहेको बताएको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवद्र्धन, शहरी सौन्दर्य प्रवद्र्धन तथा प्रदूषण नियन्त्रणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको वृक्षरोपण कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।