बेमौसमी वर्षातले कुहियो खर, किसान चिन्तित

कात्तिक २५, बैतडी । बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गाइभैँसीको लागि खर (गाज्यो) काटेर थुपार्ने गर्दछन् । यस वर्ष आएको बेमौसमी वर्षातले थुपारेको सबै खर कुहिएपछि किसान चिन्तित बनेका छन् ।खरलाई स्थानीय भाषामा गाज्यो भन्ने गर्दछन् । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर वनजंगल र घर नजिक थुपार्ने गरिन्छ । वर्षात सकिएपछि महिलाहरु आ आफ्नो भोगचलन गर्दै आएको बनमा गएर खर काट्ने गर्दछन ।  आफ्नो भोगचलन गर्दै आएको बनमा रहेको हरियो घाँस काटेर घाममा सुकेपछि मात्र त्यसलाई खर भन्ने गर्दछन् । हरियो घाँस काटेर दुई दिनसम्म घाममा सुकाएर खर बनाएपछि रुखमा थुपार्ने गर्दछन् । यस वर्ष कात्तिक पहिलो साता तिर परेको बेमौसमी अबिरल वर्षाले थुपारेको सबै खर कुहिएको छ । थुपारेको सबै खरभित्र पानी पसेपछि कुहिएको बैतडीकी हरिना साउँदले बताइन् । ‘पानीले सबै गाज्यो कुहियो कामै नलाग्ने भएको छ अब गाईवस्तु के खानेहुन भोक भोकै मर्ने भए’ उनले भनिन् । हरिनाको जस्तै चिन्ता सबै महिलाहरुको रहेको छ । महिलाहरु असोज पहिलो सातादेखि खर काटन शुरु गर्दछन् । दशंैतिहारमा याहाँका महिलाहरुलाई खर काट्न भ्याई नभ्याई हुन्छ । दशैंभन्दा पनि खर थुपार्ने चटारो यहाँका महिलामा हुन्छ । थुपारेको केहि खर पहिरोले पनि बगाएको छ । पहिरोले नबगाई बाँकी रहेको थुपारेको खर कुहिपछी अहिले महिलाहरु हिउँदमा गाईवस्तुलाई के खुआउने भन्ने चिन्तामा रहेका छन् । यहाँका केहि महिलाहरुले खर विक्री गरेरनै घरखर्च चलाउने गर्दछन् । महिलाहरु आफ्नो प्राणको बाजी लगाएर भिरपाखाबाट काटेर राखेको खर वर्षातले कुहिँदा वर्षभरी गाईभौँसीलाई के खवाउँने भन्ने चिन्ता उनीहरुमा थपिएको छ ।