जेठ २१, काठमाडौं । गत वर्ष अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गूगलको मातृ कम्पनी अल्फाबेट र फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना कर्मचारीहरुलाई औसत ३ लाख डलर तलब दिएका छन् ।
योसँगै यी दुई कम्पनी औसत कर्मचारीहरुलाई सबैभन्दा धेरै तलब खुवाउने कम्पनी बनेको वाल स्ट्रिट जर्नलको विश्लेषणले देखाएको छ । अमेरिकी अर्थतन्त्र बढेको र श्रम बजार कसिलो भएको अवस्थामा एस एन्ड पी ५०० मा सूचीकृत अधिकांश कम्पनीहरुको औसत तलब सुविधा बढेको पनि विश्लेषणमा पाइएको छ ।
औसत कर्मचारीहरुले १ लाख डलरभन्दा धेरै कमाउने कम्पनीको संख्या झन्डै १५० ओटा छ । एस एन्ड पीमा सूचीकृत कम्पनीमध्ये कर्मचारीलाई सबैभन्दा कम तलब खुवाउने कम्पनी चाँहि अटो पार्ट्स आपूर्तिकर्ता एप्टिभ हो । कम्पनीले मेक्सिकोमा रहेका आफ्ना फूलटाइम कर्मचारीलाई गत वर्ष ७ हजार ५०० डलरभन्दा कम तलब दिएको थियो ।
कर्मचारीहरुलाई ३० हजारभन्दा कम तलब दिने कम्पनीको संख्या ४४ रहेको छ । योमध्ये एप्टिभ पनि एक हो । उता, आइफोन निर्माता एप्पलले आफ्ना कर्मचारीको तलब गत वर्ष १८ प्रतिशतले बढाएको छ । तलबमा गरिएको यो वृद्धि सूचकांकमा रहेका अन्य कम्पनीको भन्दा निकै धेरै हो ।
गत वर्ष कुल ४५३ ओटा कम्पनीमध्ये २७८ ओटा कम्पनीका औसत तलबको आकार बढेको छ । गूगलले आफ्ना सबैभन्दा वरिष्ठ चार कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गरेको थियो । उनीहरुको न्यूनतम् तलब ६ लाख ५० हजार डलरबाट बढाएर १० लाख डलरमा पुर्याएको समाचार छापिएको थियो । एजेन्सीको सहयोगमा