काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक नीतिमा सुधार गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री रिजालले निजीक्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए ।
उनले आफू खुला बजार अर्थनीतिको पक्षमा रहेको बताए । मन्त्री रिजालले भने, ‘म बजारमा आधारित अर्थतन्त्रमा विश्वास गर्ने व्यक्ति हुँ । उद्योग खोल्ने काम, व्यापार गर्ने काम सरकारले गर्ने होइन, निजीक्षेत्रका लागि उपयुक्त वातावरण बनाइदिने हो ।’
औद्योगिक क्षमता विस्तार गरेर निर्यात प्रर्वद्धन गर्ने नीति सरकारको साझा न्यूनतम कार्यक्रममा समेत उल्लेख भएकाले सरकार रणनीतिका साथ अघि बढ्ने मन्त्री रिजालको भनाइ छ ।
चेम्बरको टोलीले निर्यात प्रवर्द्धन सम्बन्धी ठोस नीति एवं योजना ल्याउनसमेत आग्रह गरेको थियो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन आग्रह गरे । यस्तै निर्यात अनुदानलाई एकद्वार प्रणालीअन्तर्गत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्नेमा उनको भनाइ थियो ।
मल्लले रेमिट्यान्सको पैसालाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन मन्त्री रिजाल समक्ष आग्रह गरे । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाको लगानीलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।