तपाईंसँग ब्युटिपार्लर जाने समय छैन भने घरमै मेकअप गरेर पनि जान सक्नुहुन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि, सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको...
काठमाडौं । आकर्षक र चिटिक्क परेको घर सबैको चाहना हुन्छ । घर बलियो बनाउन निर्माण र सोहीअनुसार निर्माण सामग्रीको संयोजनमा ध्यान दिइनु आवश्यक छ । त्यसैगरी घर आकर्षक देखिन भित्री र बाहिरी सजावट नै प्रमुख शृंगार हो । मान्छे राम्रो देखिन मेकअप, फेसनयुक्त ड्रेसअप भएर मात्र पुग्दैन, उसका भित्री गुण (बोलीवचन, बानीबेहोरा, चालचलन आदि) राम्रो हुनु पनि त्यत्तिकै जरुरी छ । घरमा पनि यही नियम लागू हुन्छ ।
घर आकर्षक बनाउन भित्री (इन्टरनल) र बाहिरी (एक्सटर्नल) गरी दुई किसिमको डिजाइन जरुरत पर्छ । यसमा डिजाइन र सजावट दुई कुराको प्रमुख भूमिका रहेको हुन्छ । घरको बाहिरी भागको डिजाइन आर्किटेक्ट इन्जिनियरले गर्दछ भने भित्री भागको डिजाइन इन्टेरियर डिजाइनरले गर्दछ । आर्किटेक्ट इन्जिनियर जसले घरको नक्सा डिजाइनसम्बन्धी सम्पूर्ण कार्य गर्ने क्षेत्र भएकाले घरको भित्री भागको डिजाइन पनि गर्न सक्छन् ।
के हो इन्टेरियर डिजाइन ?
साधरण भाषामा इन्टेरियर डिजाइन घरको भित्री सजावट हो । घरको भित्री भागमा ठाउँ व्यवस्थापन गर्ने र सौन्दर्य थप्ने कला र विज्ञान हो । एक अनुभवी इन्टेरियर डिजाइनर जसले योजना बनाउँछ, अनुसन्धान गर्छ, समन्वय गर्छ र ती परियोजनालाई व्यवस्थापन गर्दछ । इन्टेरियर डिजाइनरको कार्य भनेको घरको भित्री भागमा आकर्षक सजावट र सौन्दर्य भर्ने हो ।
किन आवश्यक छ इन्टेरियर डिजाइन ?
डिजिटल ९ का प्रोप्राइटर तथा इन्टेरियर डिजाइनर वसन्त बोहराका अनुसार बजेटको सीमालाई दृष्टिगत गरी आवश्यक डिजाइन, आवश्यक सामानको सही छनोट, आकर्षक सजावट र सौन्दर्य ल्याउन सहयोग पुर्याउँछ, इन्टेरियर डिजाइनले । यो कसरी सम्भव छ त ? उनको भनाइमा घर बनाउनुअघि दर्तावाल आर्किटेक्ट इन्जिनियरबाट नक्सा बनाई नगरपालिकाबाट स्वीकृत गराउनुपर्छ । घरको नक्सा बनाउने कार्यसँगै इन्टेरियर डिजाइन कार्य पनि सँगसँगै अगाडि बढाउँदा भविष्यमा पछुताउनु पर्दैन । घरको बाहिरी काम पिलर, ढलान, वाल, प्लास्टर लगाउने कार्य सकिएपछि भित्री सजावटका कार्य गर्न खोजियो भने भनेजस्तो र खोजेजस्तो डिजाइनको स्वरूप नआउने हुन सक्छ । अर्थात् कता–कता के नमिलेजस्तो महसुस हुन्छ । यस्तो अवस्थामा सबभन्दा बुद्धिमानी घरको नक्सा बनाउने कार्यसँगै इन्टेरियरको कार्य पनि सँगै गर्न सके पछि झेल्नुपर्ने समस्या र दोहोरो खर्चबाट बच्न सकिन्छ ।
इन्टेरियरबाट हुने फाइदा
नेपालमा आम समस्याको रूपमा रहेको एकैखाले रोगजस्तो हो, घर । बोहराको भनाइअनुसार इन्टेरियरको कुरा गर्नासाथ यस्तो काम गर्न किन चाहियो इन्टेरियर भनेर उल्टै प्रतिप्रश्न गर्ने गरिन्छ । यी कार्य हामी आफैं पनि गर्न सक्छौं भन्नेजस्ता व्यवहार बेहोर्नुपर्छ इन्टेरियर डिजाइनरले ।
हुन त, इन्टेरियर डिजाइनरले गर्ने कार्य र अन्य साधरण मिस्त्रीबाट हुने कार्य पनि उस्तै देखिन्छ । साधारण सजावट र साधरण घर बनाउनलाई यही नै पर्याप्त हुन्छ । त्यस समय इन्टेरियरको खासै भूमिका नरहेजस्तो देखिएको हो । जस्तो, एउटा साधारण फर्निचर पसलेले बनाउने दराज हेर्दा उस्तै–उस्तै लाग्न सक्छ । तर, त्यही दराज एक जना दक्ष इन्टेरियरले बनाउँदा केही न केही फरक बन्छ । त्यसैले इन्टेरियरको कार्य त्यस समय आवश्यक पर्छ, जब महँगो र आकर्षक डिजाइनमा सजावटका सामग्री प्रयोग गरिन्छ । पैसावाल र सौखिन व्यक्तिका लागि ती इन्टेरियर डिजाइनरको महत्व हुन्छ । हामीमध्ये अधिकांश साधारण घरमा गुजारा गर्नुपर्ने बाध्यता रहेका कारण इन्टेरियरको महत्व कम हुन गएको हो ।
इन्टेरियर डिजाइनरले मान्छेको बजेटअनुसार सामग्री छनोट गरी सीमित बजेटबाट पनि चाहेजस्तो डिजाइनमा आकर्षक सौन्दर्य थपिदिन सक्छन् । डिजाइनरले जस्तो बजेट र चाहना छ, त्यस्तै डिजाइनमा घरको सौन्दर्य भरिदिन्छन् । बोहरा भन्छन्, ‘जस्तो खर्च, त्यस्तै डिजाइन । आकर्षक घर पनि चाहिने खर्च गर्न पनि कन्जुस गर्ने कार्यले भनेजस्तो स्वरूप हुन सक्दैन ।’
घरको स्वरूप बिगारेर पछि पछुताउने नेपालीको समस्या छ । यसले दोहोरो खर्च र समयको बर्बाद गरिरहेको हुन्छ । यसबाट बच्न घर बनाउनुअघि आर्किटेक्ट इन्जिनियर, सिभिल इन्जिनियर र इन्टेरियर डिजाइनरको रायसल्लाहबमोजिम घरको नक्सा र इन्टेरियर कार्यसँगै अगाडि बढाउनु नै बुद्धिमानी हुन्छ ।