मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसीलाई कारबाही

माघ ५, काठमाडौं। मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसी कारबाहीमा परेका छन् । प्रहरीले मास्क कालोबजारी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई बुधवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मास्कमा कालोबजारी गरेको जनगुनासो र सूचनाका आधारमा अनुसन्धान हुँदा अत्यधिक मूल्य लिएर मास्क विक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।   सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना    यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा सिटामोलको अत्यधिक माग बढेपछि कृत्रिम अभाव सृजना गरी सिटामोल लुकाएको अवस्थामा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।  विभागको टोलिले छड्के चेकजाँच गर्ने क्रममा ग्राहकलाई सिटामोल छैन भनेको  र गोदामा भने सिटामोल भेटिएको विभागका एक जना कर्मचारीले बताए । ‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको यो समयमा अत्यावश्यक कुनै पनि औषधिमा कालोबजारी वा कृत्रिम अभावको भए गरेको पाइएमा तत्काल खबर गर्न पनि विभागले सरोकारवाला सवैलाई आग्रह गरेको छ ।