कात्तिक २४, चितवन । भरतपुर विमानस्थलमा वर्ष २०२१ को १० महीनामा झण्डै १ लाख ४० हजार यात्रुले सेवा लिएका छन् ।
सो वर्षको जनवरीदेखि अक्टोवरसम्म १ लाख ३९ हजार ८८३ जनाले सेवा लिएका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी अक्टोवर महीनामा २६ हजार ८१ र सबैभन्दा कम जुन महीनामा १३ जना यात्रुले सेवा लिएका थिए ।
यस्तै जनवरी महीनामा १३ हजार १९३, फेब्रुअरीमा १७ हजार ३२३ जना, मार्च महीनामा १८ हजार ७४३, अप्रिलमा १६ हजार ८८०, मे महीनामा १ हजार २११ जना जुलाईमा, १७ हजार १०९, अगष्टमा १८हजार २५६ र सेप्टेम्बरमा २४ हजार २८० जना यात्रुले सेवा लिएका थिए । कार्यालयका सूचना अधिकारी दिपक विकले जुन महीनामा कोरोनाका कारण निषेधाज्ञा भएकाले नियमित उडान बन्द भएकोले जुन महीनामा चार्टर विमान मात्र भएको जानकारी दिए ।
‘मेदेखिनै निषेधाज्ञा भयो । नियमित उडान बन्द भयो’, उनले भने, ‘ती यात्रु चार्टर विमानका मात्रै हुन् ।’ उनका अनुसार अक्टोवर महीनामा चाडपर्व शुरु भएसँगै यात्रुको संख्यामा पनि वृद्धि भएको हो । ‘चितवनमा चाडवाडमा उडान संख्या पनि बढ्यो’, उनले भने, ‘चाडपर्व र राजनीतिक गतिविधिले उक्त महीनामा यात्रुको चाप बढेको हो ।’
झण्डै ५ हजार उडान
विमानस्थलमा १० महीनाको अवधिमा विभिन्न उडान कम्पनीले झण्डै ५ हजार उडान गरेका छन् । कार्यालयका अनुसार उक्त अवधिमा ४ हजार ९१२ पटक उडान र अवतरण भएको छ । यी मध्ये सबैभन्दा बढी अक्टोवर महिनामा ९०६ ओटा उडान भएको छ भने सबैभन्दा कम जुन महीनामा ६ ओटा उडान भएको छ ।
यस्तै जनवरी महिनामा ४१० ओटा, फेब्रुअरीमा ५४८, मार्चमा ५९४, अप्रिलमा ५६०, मे महीनामा ६० जुलाईमा ५४६, अगष्टमा ५६८ र सप्टेम्बर महीनामा ७१४ ओटा उडान भएको कार्यालयले जानकारी दिएको छ । सूचना अधिकारी दिपक विकले अक्टोवरमा उडान संख्यामा वृद्धि भएको र जुन महीनामा चार्टर मात्र उडान भएकोले उडान संख्या कम भएको बताए ।
सबभन्दा बढी उडान बुद्ध एयरबाट
१० महीनाको अवधिमा सबैभन्दा बढी उडान बुद्ध एयरले गरेको छ । कार्यालयको तथ्यांक अनुसार सो अवधिमा उक्त कम्पनीले ३ हजार ७१६ पटक उडान गरेको छ भने सबैभन्दा कम श्री एयरले आठ ओटा उडान गरेको छ । विमानस्थलमा निशेधाज्ञाका कारण नियमित उडान नभएका कारण सो अवधिमा चार्टर उडान भएको कार्यालयले जानकारी दिएको छ ।
उक्त अवधिमा बुद्ध एयरले बाहेक अन्य उडान कम्पनीले नियमित उडान गरेका छैनन् । जस अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा यती एयरलाईन्सले ७०२ पटक उडान भरेको छ । उक्त कम्पनीले यहाँको सेवा बन्द गरेपछि गुण एयरले सेप्टेम्बर रअक्टोबरमा गरी २२० ओटा उडान गरेको छ ।
यसैगरी मनाङ्ग एयरले ३४ ओटा, सिम्रिक एयरले ३० ओटा, प्रभु हेलीले ४० ओटा, कैलाश हेलीले २४ ओटा, समिट हेलीले १२ ओटा, एयर अल्टिच्युडले २४ ओटा,एयर डाइनास्टीले २० ओटा, तारा एयरले ५८ ओटा र माउण्टेन हेलीले छ ओटा उडान गरेको कार्यालयले बताएको छ । सूचना अधिकारी विकले बुद्ध एयरको नियमित उडान र जहाजको संख्या पनि धेरै भएकोले उक्त कम्पनीको उडान संख्या सबैभन्दा बढी भएको बताए ।
हाल भरतपुर –काठमाडौं –भरतपुर गरी बुद्ध एयरले २६ पटकसम्म भरतपुर– पोखरा– भरतपुर दुईपटक र भरतपुर –भैरहवा – भरतपुर दुई पटक गरी दैनिक उडान अवतरण गर्दै आएको छ । यस्तै यती एयरलाईन्सले सेवा बन्द गरेपछि गुण एयरले भरतपुर –काठमाडौं भरतपुर गरी ६ ओटा उडान गर्दै आएको छ ।