सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’
नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ४ रोपनी बारीमा गोलभेँडा रोपेकी छिन् । नेपाल मात्रै होइन, डडुवाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् । ठूलो क्षेत्रफलमा गोलभेँडा लगाउँदै आएका सोही ठाउँका उद्धव नेपालको परिवारले २५ लाखको गोलभेँडा कात्तिक यताबाट मात्र बेचिसकेको छ । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै गोलभेँडा उठाउन आउँछन् ।’
उनीहरूले अहिले गोलभेँडा र काउलीलगायत सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका छन् । तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडाध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार डडुवाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक ५ करोड रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् ।
‘गतवर्ष गोलभेँडा, काउली लगायत सिजनअनुसारका तरकारी बेचेर यो वडाबाट ५ करोड रुपैयाँ गाउँ भित्रिएको तथ्यांक छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यो वर्ष कृषि पकेट क्षेत्रका लागि साढे २ लाख नगरपालिकाबाट अनुदान आयो, साढे २ लाख वडाले बजेट विनियोजन गरेको छ । यसले आम्दानी झन् बढ्ने अनुमान छ ।’ सो रकमबाट वडाभरका वडाबाट किसानलाई ४ हजार प्याकेटको तरकारीको बीउ अनुदानमा दिएको उनले बताए ।
डडुवा, रानीटार र झुलेटारका ३ सय घरधुरीले गोलभेँडा लगाएका छन् । हरेक दिन दिउँसो ४ बजेपछि गोलभेँडा लगायतको तरकारी बोकेर दैनिक ५ देखि ११ ओटासम्म गाडी काठमाडौं जान्छन् । कम्तीमा दैनिक सात सय क्रेट यहाँका किसानले फलाएका गोलभेँडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको छ । किसानको गोलभेँडा लिन व्यापारीहरू गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष श्रेष्ठले बताए । यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । किसानहरूले मकै दोर्याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाँच्ने गर्छन् । बाँकी ढोड गोलभेँडालाई थाक्रो हुन्छ । यसले गोलभेँडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी गर्नुपर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेँडाको उत्पादन हुने कृषक कृष्णप्रसाद नेपालले बताए । विनासिँचाइ यहाँको माटोमा गोलभेँडा फल्ने गरेको उनले बताए ।