४ महीनामै ८ हजार पर्यटकले गरे अन्नपूर्ण पदमार्गमा यात्रा, मनाङको सौन्दर्यता पहिलो रोजाइ

मनाङ । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्म उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा ८ हजार २२० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महीनामा ५ हजार ५६ पुरुष र ३ हजार १६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ को शुरूआतमै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका ३१८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्यांक छ ।  कोभिड-१९ को संक्रमणपश्चात् सहज बनेपछि अहिले विश्वभरबाट पर्यटक नेपाल आउने क्रम जारी छ । नेपाल भित्रिने क्रममा उनीहरू विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । पदयात्राका लागि विशेषगरी विदेशी पर्यटक आउने गरेको एक्यापका प्रमुख गौतमले बताए । जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्यांकमा उल्लेख छ । अहिले वर्षातको समय भएकाले पदमार्गको यात्रा गर्दा सम्भावित जोखिमबारे जानकारी गराएर पठाउने गरिएको उनले बताए । ‘पर्यटक एक्लै जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजीकार्य गर्न समस्या भएपछि सरकारले पथप्रदर्शकविना यात्रामा जान रोक लगाएको छ, अहिले पथप्रदर्शक लिएर मात्रै पर्यटक आउने गरेका छन्,’ गौतमले भने । पथप्रदर्शक भएपछि सूचना पाउन सहज भएको उनको भनाइ छ । यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा पथप्रदर्शकको सहयोग हुने हुँदा सहज भएको पर्यटकहरू बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुशी छाएको छ । पर्यटक वृद्धि हुँदा उनीहरूको आयस्तरसमेत वृद्धि हुनेछ । पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ तथा पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेंसीसहर नगरपालिका-७ मनाङे चौतारामा पर्छ ।  अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दीसित जोडिएको छ । काठमाडौंदेखि बेंसीसहरसम्म सडकमार्ग त्यसपछि पदमार्गमार्फत पर्यटकले मनाङका विभिन्न स्थानको अवलोकन गर्छन् । -रासस