लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँका दुई, ललितपुरका एक र भक्तपुरका तीन जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँमा फेलापरेका सङ्क्रमितमा कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि काठमाडौँ भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।