खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि पुगेन खाद्यान्न

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित विक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो । यसपालि वर्षमा एक पटक मात्र फल्ने उवा बाली पनि राम्रो उत्पादन नभएकाले खार्पुनाथमा खाद्यान्न समस्या हुने देखिएको स्थानीयवासी बताउँछन् । स्थानीय उत्पादन कम हुनु, खाद्यान्न आयात नहुनु र लिमिटेडको खाद्यान्न पनि ढुवानी हुन नसक्दा खार्पुनाथमा खाद्यान्नको चर्को समस्या देखिएको वडा नं २ थालीका स्थानीयवासी लामा रावलले बताए । ‘वडा नं २ थालीमा ३०० घरपरिवार छन्, उनीहरूसहित अन्य वडाका स्थानीयवासीले पनि वर्ष दिन खाद्यान्न पाएका छैनन् ।’ खार्पुनाथको याङ्चु बजारस्थित विक्री केन्द्रमा यहाँका लागि आवश्यक पर्ने ५०० क्विन्टल चामल अहिलेसम्म ढुवानी हुन सकेको छैन । गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ । हुम्लाका अधिकांश डिपो र विक्रीकेन्द्रमा ढुवानीको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण स्थानीयवासीले पाउनुपर्ने खाद्यान्न पाउन नसकेका हुन् । यस्तै जिल्लाको दक्षिणी भेगका सर्केगाड डिपो, छप्रेला, श्रीनगरलगायतका विक्री केन्द्र तथा डिपोमा यतिबेला खाद्यान्न अभाव भएको छ । विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा खाद्यान्नको थप संकट हुने देखिएको छ । खार्पुनाथ गाउँपालिकाबाट दक्षिण भेगमा रहेका विक्री केन्द्र तथा डिपोका लागि पैदलमार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । पुस, माघमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा अत्यधिक हिमपात हुने गर्दछ । त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ । ठेकेदारको लापरबाही र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको बेवास्ताका कारण यहाँका नागरिकले खाद्यान्न अभाव झेल्दै आउनुपरेको छ । रासस