असोज १५, काठमाडौं । रू रू जलविद्युत् परियोजनासहित तीन ओटा कम्पनीको साधारण सभा शनिवार हुने भएको छ ।
रू रू जलविद्युत् परियोजना,एक्सेल डेभलपमेण्ट बैंक र घोडीघोडा लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । रू रू जलविद्युत् परियोजनाले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे साधारण सभा आयोजना गर्न लागेको हो ।
सभाले कम्पनीले दुई आवको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । आव २०७६/ ७७ को १० दशमलव ५२ प्रतिशत नगद लाभांश र आव २०७७/ ७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज ७ गते बुक क्लोज गरेसँगै असोज ६ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।
त्यसैगरी एक्सेल डेभलपमेण्ट बैंकले बिहान ११ बजे सिद्धार्थ होटल झापामा सभा गर्ने जानकारी गराएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा होटल रुबस कैलालीमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले यस घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।
घोडीघोडाको १०० कित्ता शेयर बराबर युनिक नेपालको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पनि पारित गर्नेछ । घोडीघोडा लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्ममा सर्वसाधारणमा शेयर निष्कासन गरेको छैन ।
यी दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्ज सम्बन्धी सहमातिमा हस्ताक्षर भएको हो । घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा मर्ज हुने सहमति भएसँगै २०७७ कात्तिक २३ गतेदेखि घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।