काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पाँचौं स्थापना दिवस अवसरमा असार २५ गते तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान आयोजना गरिएको हो ।
कार्यक्रममा ३० जना रक्तदाताले ३० युनिट रक्तदान गरेको संस्थाले बताएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले रक्तदातालाई प्रमाणपत्र वितरण गरे ।
संस्थाले पाँचौं स्थापना दिवस अवसरमा लमजुङको बेंसीसहरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न वितरण गरेको छ । त्यसैगरी संस्थाका विभिन्न शाखाले समेत सामाजिक क्रियाकलाप सञ्चालन गरी स्थापना दिवस मनाए ।
संस्थाले ०७४ वैशाख २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो भने ०७४ असार २५ गते राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरी ०७४ साल असार ३० गतेबाट विधिवत कारोबार सुरु गरेको हो । हाल संस्थाले ४२ जिल्लामा ७७ शाखा कार्यालय, ४ अनुगमन मुकाम, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ८३ वटा कार्यालयबाट ५३ हजार ७ सय ६९ घरधुरीमा सेवा दिँदै आएको छ । संस्थाको कर्जा लगानी ३ अर्ब ४५ करोड, बचत ९१ करोड १३ लाख रुपैयाँ रहेको छ ।