धितोपत्र बोर्डको आग्रह : सेवाप्रवाहमा सावधानी अपनाऔं

वैशाख ११, काठमाडौं ।नेपाल धितोपत्र बोर्डले कोरोना संक्रमणको खतरालाई मध्यनजर गरेर सेवाप्रवाहमा विशेष सावधानी अपनाउन सम्वद्ध सरोकारवालालाई आग्रह गरेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको संक्रमण नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले जानकारी दिए ।            सेवा प्रवाहलाई निरन्तर अगाडि बढाउन कर्मचारीलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्न र सेवाग्राहीको भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाहलाई विद्युतीय माध्यमको प्रयोग गर्ने तथा गराउने व्यवस्था मिलाउन भनिएको छ । बोर्डबाट अनुमति प्राप्त धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण व्यवसायीले कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ ।            कोरोनाको संक्रमण फैलन नदिन विशेष आग्रह गर्दै बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेको छ ।  रासस

सम्बन्धित सामग्री

९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने, पटका पड्काउनेलाई ३ वर्ष जेल

काठमाडौँमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जनाएको हो ।त्यस्तै पटाका, झिरझिरे पड्काउने लगायतका आतिशबाजी नगर्न समेत प्रहरीले आग्रह गरेको छ। यदि त्यसो गरेमा मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।यस्ता छन् प्रहरी परिसर काठमाण्डौले गरेको १८ अनुरोध : १. सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाडपर्व: तिहार (दीपावली), छठ र नेपाल सम्वत ११४३ लाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खवर गरौं। २. आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवम् सभ्य तवरले २१:०० बजेसम्म मात्र देउसी भैलो खेलौ। ३. आफ्नो टोलमा तास, जुवा खेल्ने ब्यक्तिहरु बारे प्रहरीलाई समयमै खवर गरौं। ४. आतिशबाजी (पटाका, झिरझिरे पड्काउने) नगरौं। ( मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने)। ५ मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाऔं। ६. नागबेली (Slalom, zigzag) तवरले कहिल्यै सवारी साधन नचलाऔं। ७. सार्वजनिक स्थानमा मद्यपान तथा धुम्रपान नगरौं अन्यलाई समेत निरुत्साहित गरौं। ८. नगद, वहुमूल्य सामान र गर गहनाहरु सकेसम्म लकर (Locker) मा राखौँ।। ९.  विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोवार गर्ने गरौं, नगदबाट गर्नु पर्दा उच्च सावधानी अपनाऔं । १०. लागु औषध, नशालु पदार्थ सेवन, ओसार पसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्ति बारे प्रहरीलाई खवर गरौं। ११.  छतमा चढेर यात्रा नगरौं, सडकको दायाँ, बायाँ जथाभावी पार्किङ नगरौं, ट्राफिक नियमको सधैं पालना गरौं। १२. यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔं। १३. नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोलौं। १४. आफ्नो घर, टोल, छिमेकमा आपतकालीन साइरन र सिसिटिभि क्यामेरा जडान गरौं । १५. धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खवर गरौं। १६ . लामो समयघर बाहिर जानु परेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गराऔं। १७.  तिहार र छठ पर्वको लागि गाऊँ जान लागेको' लगायत उल्लेख गरी सामाजीक सञ्जालमा पोष्ट नगरौं। १८.  यहाँहरु मर्यादित एवम् सभ्य तवरले ढुक्क भई चाडपर्व मनाउनुहोस प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैछ नि!

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत…

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

पुस १४, काठमाडौं । मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो । चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।  सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  । रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

विद्युत् नियमन आयोगको आग्रह : जलविद्युत् कम्पनीको शेयर खरीद गर्दा सावधानी अपनाऔं

भदौ ३, काठमाडौं । जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ ।            प्रतिशेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । शेयर बजारले ‘बुलिस टे«ण्ड’ समातिरहेको बेला लगानीकर्ताको ठूलो चाप जलविद्युत् कम्पनीको शेयरमा नै परेको छ । एक वर्ष अघिसम्म प्रतिकित्ता  ४९ रुपैयासम्ममा कारोबार भएका जलविद्युत् कम्पनीको शेयरमा न्यूनतम ४०० प्रतिशतदेखि ९०० प्रतिशतसम्म वृद्धि भएको छ । जबकी गत वर्ष मात्रै दोस्रो बजारमा प्रतिकित्ता १०० रुपैयाँमा सूचीकृत भएका ती कम्पनीका शेयर घटेर असाध्यै न्यून विन्दुमा पुगेका थिए । केही कम्पनीको शेयरमूल्यमा देखिएको वृद्धि स्वभाविक भए पनि अधिकांशको अस्वाभाविक देखिन्छ ।            माथिल्लो तामाकोशीको कुल १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत छ । बुधवार सो कम्पनीको शेयर प्रतिकित्ता ८०४ रुपैयाँमा कारोबार भएको थियो । माथिल्लो तामाकोशीले मंगलवारदेखि नै ४५६ मेगावाट क्षमतामा बिजुली उत्पादन गरेकाले पनि सो कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन् ।            नेपाल स्टक एक्सचेञ्जका अनुसार हालसम्म कुल ४० ओटा कम्पनीको शेयर सूचीकृत भएका छन् । तीमध्ये सबैभन्दा ठूलो परिमाणको शेयर माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको छ । त्यसपछि रसुवागढी, साञ्जेन, चिलिमे, बुटवल पावर कम्पनीको शेयर मात्रात्मक रुपमा बढी छ ।            एकातिर बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसक्ने अवस्थामा रहेका भन्दै धितोपत्र बजारमा कारोवार गरिरहेका जलविद्युत् कम्पनीले सरकारसँग हारगुहार गरिरहेका छन् भने अर्कोतर्फ शेयर बजारमा ती कम्पनीको शेयरमा नै राम्रै चमकदमक देखिन्छ । गतवर्ष यही समयमा प्रतिकित्ता ८५ रुपैयाँमा कारोवार भएको रिडी हाइड्रोपावर कम्पनीको शेयर बुधवार मात्रै प्रतिकित्ता ९५५ रुपैयाँमा कारोवार भएको छ । यसरी एक्कासि मूल्यवृद्धि हुनुलाई धेरैले स्वभाविक मानेका छैनन् ।            आँखुखोला जलविद्युत् कम्पनीको अवस्था त्यस्तै थियो । उता खानीखोला हाइड्रोपावरको शेयर मूल्यसमेत ५० रुपैयाँको हाराहारीमा झरेको थियो । तर, कमजोर मानिएका कम्पनीको शेयरमा अस्वाभाविक वृद्धि भएपछि विद्युत् नियमन आयोगले बिहीवार एक सूचनामार्फत  जानाजान रुपमा लगानीकर्ता झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवं उत्पादक कम्पनी विरुद्ध आयोगले आवश्यक कारवाही चाल्ने बताएको छ ।       आयोगले लगानीकर्तालाई विद्युत्सम्बन्धी आयोजना एवं कम्पनीको प्राविधिक तथा वित्तीय अवस्थाको विश्लेषण गरी तथ्यपरक सूचनामा आधारित भएर उक्त शेयरले दिने वा दिनसक्ने प्रतिफलको बारेमा राम्रोसँग लेखाजोखा गरी लगानी गर्न अनुरोध गरेको छ । हरेक प्रकारका लगानीमा फरकफरक खालका जोखिम हुने भएकाले त्यसको ध्यानपूर्वक आंकलन गर्नु स्वयम् लगानीकर्ताको जिम्मेवारी भएको आयोगको ठहर छ । विद्युत् कम्पनीको शेयरमा लगानी गर्ने क्रममा वा शेयर खरिद गर्दा विशेष सावधानी अपनाउन आयोगले सबैलाई अनुरोध गरेको छ ।            आयोगले कम्पनीको नेटवर्थ चुक्तापूँजीभन्दा कम भए नभएको हेर्न भनेको छ । यस्तै, कम्पनीको बजार मूल्य र प्रतिशेयर आम्दानीको अनुपात कम भए नभएको विश्लेषण गर्न र चालु सम्पत्ति तथा चालू दायित्वको अनुपात धेरै भए नभएको विचार गर्न आग्रह गरेको छ ।            त्यसैगरी तरलता अनुपात धेरै नभएको, निर्माणाधीन आयोजनाको हकमा कार्यप्रगति धेरै नभएको, निर्माणाधीन आयोजनाको बिजुली प्रवाह गर्ने नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनको कार्य प्रगति हेर्दा सो प्रसारण लाइन आयोजनाभन्दा ढिलो सम्पन्न नहुने नदेखिएको वा देखिएको विचार गर्न अनुरोध गरेको छ । आयोजनाको कार्य प्रगतिको हिसाबले व्यापारिक उत्पादन गर्नुपर्ने मितिसम्म आयोजनाको निर्माण हुनसक्ने वा नसक्ने विषयमा विशेष ख्याल गर्न अनुरोध गरेको छ ।            यसैगरी बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरे नतिरेको एकीन गर्न, आयोजनाको सञ्चित मुनाफाको बारेमा ख्याल गर्न आयोगले विशेष अनुरोध गरेको छ । कम्पनीको ब्याजदर उच्च रहेको वा नरहेको, सञ्चित मुनाफा अधिक रहे नरहेको, कम्पनीको व्यवस्थापकसँग जलविद्युत् क्षेत्रको अनुभव भए नभएको, आयोजनाले पूर्ण क्षमतामा बिजुली उत्पादन गरे नगरेको हेर्नसमेत आयोगले लगानीकर्तालाई आग्रह गरेको छ । यी विषयलाई ध्यान दिएर मात्रै जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्न भनिएको छ ।            ऊर्जा उद्यमीका अनुसार विभिन्न २५ ओटा कम्पनीले बैंक तथा वित्तीय संस्थाको ब्याजसमेत तिर्न सकेका छैनन् । ऊर्जा उद्यमीले समस्याको समाधान गरिदिन ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई पटकपटक आग्रह समेत गरिसकेका छन् । निरन्तर गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालयले सो बारेमा चासो व्यक्त गरेको छ ।        जलविद्युत् प्रवर्द्धकले साधारण शेयर जारी भएको तीन वर्षपछि आफ्नो शेयर विक्री गर्न पाउँछन् । तीन वर्षको ‘लकिङ’ अवधि पूरा गरेका ठूला कम्पनीले शेयरमूल्य बढाउन चलखेल गरेको पाइएको छ । पछिल्लो समय बजारमा हकप्रद शेयर र लाभांश शेयरको हल्ला चलाइएको छ । यस्तै आपसी सहमतिमा कारोवार गर्ने तथा शेयर मूल्य बढाउनकै लागि तथ्यहीन सूचना प्रवाह हुने गरेको सर्वसाधारण लगानीकर्ताको बुझाइ छ । बैंकको ऋणसमेत नियमित गर्न नसक्ने आयोजनाको शेयर निरन्तर ‘बुलिस’ हुने गरेको अवस्थाबारे विद्युत् नियमन आयोगले नियमन गर्दै आएको छ ।             जलविद्युत् कम्पनीका लगानीकर्ताले आपसी मिलेमतो गर्ने र आफैं किन्ने तथा सोही समूहका व्यक्तिले अर्को ब्रोकरबाट खरीद गर्दा सर्वसाधारण लगानीकर्ता मारमा पर्ने गरेको गुनासो आएको छ । अत्याधिक मात्रामा गुनासो आएपछि आयोगले बिहीवार सूचनामार्फत सचेत गराएको हो ।      आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ र नियमावली, २०७५ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । बजारको वास्तविकता बुझेर मात्र शेयर खरीदविक्री गर्न सर्वसाधारण लगानीकर्तालाई आयोगले आग्रह गरेको छ ।  रासस