हेटौंडास्थित एमएम पोलिमर प्रालिले कार्तिकबाट प्लाष्टिकबाट निर्मित उच्च गुणस्तरको पेट बोटल उत्पादन थाल्ने भएको छ । यसले कोक, पेप्सीलगायतका हलुका पेय पदार्थ प्याकेजिङमा हाल प्रयोग भइरहेको जस्तो प्लाष्टिकको पेट बोटल उत्पादन गर्न लागेको हो । यस्तो बोटल उत्पादन गर्ने एमएम नेपालकै पहिलो कम्पनी हुनेछ । अहिले यस्ता बोटल लगभग शतप्रतिशत भारत, पाकिस्तान र अन्य मुलुकबाट आयात हुँदै आएका छन् । एमएमले नेपाली बजारको माग धान्न सक्ने परिमाणमा यसको उत्पादन गर्ने बताएको छ । ‘सोपछि भने पेट बोटलको आयात पूर्ण प्रतिस्थापन हुने देखिएको छ,’ कम्पनीका प्रबन्ध सञ्चालक सुयश प्याकुरेलले अभियानसँग भने ।
स्तरीय पेट बोटल उत्पादनका लागि कम्पनीले बोटल उत्पादनमा प्रयोग गर्ने पूर्ण स्वचालित उपकरणका लागि लगानी बढाएको हो । ‘हामीले प्रयोग गर्न लागेका जस्ता उपकरण पूरै भारतमा समेत १५ वटा मात्रै छन् । नेपालमा यस्तो उपकरण प्रयोग गर्ने एमएम पहिलो कम्पनी हो,’ प्याकुरेलले भने ।
एमएमले अहिले पनि अढाइ सय प्रकारका प्लाष्टिक बोटल, जार आदि उत्पादन गर्दै आएको छ । यी उत्पादन हाल ड्रुक, गल्फ लुब्रिकेन्ट, डाबर ग्लुकोजलगायत विभिन्न औषधि र मिनरल वाटर कम्पनीले प्रयोग गर्ने गरेका छन् । एमएमले अब उत्पादन हुने पेट बोटल नेपाल तथा अन्य मुलुकमा रहेका कोक, पेप्सीलगायतका बहुराष्ट्रिय कम्पनीलाई लक्षित गरेर ल्याएको बताएको छ । केही बहुराष्ट्रिय कम्पनी एमएमको सो उत्पादन प्रयोग गर्न इच्छुकसमेत देखिएको स्रोतले अभियानलाई बतायो ।
वर्ष ६, अंक ३३, आइतवार, २४ असोज २०६७