बीउ उत्पादन अभिवृद्धिमा सघाउँदै जाइका

काठमाडौं (अस) । जाइका र नेपाल सरकारबीच धानको बीउ परियोजना सहकार्यका लागि सम्झौता भएको छ । ‘बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली परियोजना’मा प्राविधिक सहकार्यका लागि जाइकाले नेपाल सरकारसँग उक्त सम्झौता गरेको हो । यो परियोजना कार्यान्वयनको अवधि ५ वर्ष (सन् २०२२ को मार्चदेखि सन् २०२७ को मार्चसम्म) रहेको छ । परियोजना कार्यान्वयन निकाय बीउ गुणस्तर नियन्त्रण केन्द्र, कृषि तथा पशु विकास मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र प्रदेश १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय रहेका छन् । परियोजना प्रदेश १ मा मुख्यतः झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा कार्यान्वयन हुनेछ । परियोजनाको उद्देश्य प्रदेश १ मा गुणस्तर सुधारिएको बीउको प्रसारमार्फत धानको बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली मजबूत बनाउनु एवम् नेपालमा धानको बीउ उत्पादन अभिवृद्धि, आपूर्ति र गुणस्तर नियन्त्रण प्रणाली कार्यान्वयन बलियो बनाउनु रहेको छ । धान नेपालको कृषिमा मुख्य बाली हो । परियोजना कार्यान्वयन भइरहँदा र सम्पन्न भएपछि समेत यसले नेपालको दिगो सामाजिक र आर्थिक विकासमा टेवा दिने अपेक्षा गरिएको छ ।