आजदेखि अंग्रेजी नयाँवर्ष २०२२ शुरु

पुस १७ , काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार शनिवारदेखि अंग्रेजी नयाँवर्ष इस्वी सन् २०२२ शुरु भएको छ । हाल विश्वको विभिन्न स्थानमा यो संवत् लागू रहेको छ । सौरमास र चान्द्रमासको समन्वयबाट वैदिक कालदेखि नै शुरु भएको विक्रम संवत जति वैज्ञानिक नभएपनि हाल इस्वी सनको प्रभाव भने विश्वव्यापी छ । नेपालमा भने विक्रम संवत लागू छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि विदेशी आयोजनाका कार्यहरु र भ्रमणमा आउने विदेशीले यसलाई उपयोगमा ल्याउने गरेको पाइन्छ  ।  जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । नयाँ वर्ष सन् २०२२ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले  एकापसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । नयाँ वर्ष २०२२ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायतका स्थानमा शनिवार विशेष रुपमा यो पर्व मनाइन्छ ।