काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. २१ लख ८० हजार नाफा कमाएकोमा चालू आवमा रू. ४ लाख ७२ हजारमा झरेको हो । चालू आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नाफा प्रभावित भएको हो ।
कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याएको थिएन भने चालू आवमा रू. ११ लाख ९ हजार छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ८९ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ६४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ४६ लाख ६१ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७६ लाख ४४ हजार पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ४ करोड रहेको छ भने जगेडामा रू. १८ लाख ९१ हजार सञ्चित गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशलमव १८ (वार्षिक), तरलता अनुपात ४४ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०४ दशमलव ७३ रहेको छ ।