नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरेको जनाउँदै उक्त निर्देशन दिइएको हो ।
शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको हो । क्यानका एयर ट्रान्सपोट्रेशन डिभिजन प्रमुख सचितभक्त पोखरेलको हस्ताक्षर रहेको उक्त सूचनानुसार शनिबारकै मितिदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको हो । बन्दाबन्दीका समयमा नेपालमा रोकिएका विभिन्न देशले आफ्ना नागरिक स्वदेश फर्काउन चार्टर उडान गर्दै आएका छन् । गत चैत ९ गतेयता हालसम्म ११० अन्तरराष्ट्रिय चार्टर उडान भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।