फागुन २०, काठमाडौं । साताको अन्तिम दिन शुक्रवार सुनको मूल्य झन्डै १ लाख पुगेको छ । बिहीवारको तुलनामा शुक्रवार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।
यो मूल्य डेढ वर्ष अघिकै सर्वाधिक उचाईबाट ३ हजार ६०० रुपैयाँ मात्रै कम हो । यसअघि २०७७ साउनमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ नाघेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीवार छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रवार तेजाबी सुन प्रतितोला ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो करोबार दिन चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रवार अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातु सुनको भाउ बढेको छ । रुस र युक्रेनबिच भएको तनावका कारण सेफ एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो ।
त्यसैगरी, शुक्रवार अन्तरराष्ट्रिय बजारमा डलरको भाउ पनि बढेको छ । बिहीवार १ अमेरिकी डलरको विक्रीदर १२१ रुपैयाँ ८३ पैसा रहेकोमा शुक्रवार १२१ रुपैयाँ ८६ पैसा कायम भएको छ ।