बैतडीका स्थानीय तहको बेरुजु साढे ३२ करोडभन्दा बढी

भदौ १२, बैतडी । बैतडीका स्थानीय तहहरुको बेरुजु साढे ३२ करोडभन्दा बढी रहेको छ । महालेखाको ५८औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा गरेर ३२ करोड ६३ लाख ७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।  सबैभन्दा बढी डिलासैनी गाउँपालिका र सबैभन्दा कम पाटन नगरपालिकामा बेरुजु देखिएको छ । डिलासैनी गाउँपालिकाको ८६ करोड ४१ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड २० लाख २२ हजार बेरुजु रहेको छ । यो लेखा परीक्षण गरिएको ६ दशमलव २ प्रतिशत हो । यस्तै, कम बेरुजु देखिने पाटन नगरपालिकाको १ अर्ब २० करोड ३८ लाख ३० हजार रुपैयाँको लेखापरीक्षण गर्दा १ करोड ७२ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको छ । यो लेखा परीक्षण गरेको रकमको १ दशमलव ४३ प्रतिशत हो ।  सिगास गाउँपालिकामा ३ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ । ८७ करोड ९९ लाख १५ हजारको लेखा परीक्षण गर्दा ३ करोड ४२ लाख ५८ हजार बेरुजु देखिएको छ । दोगडाकेदार गाउँपालिकामा १ अर्ब २ करोड ७१ लाख ३२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड २७ लाख ७९ हजार बेरुजु देखिएको छ ।  यस्तै, शिवनाथ गाउँपालिकामा पनि ५९ करोड ८८ लाख ५८ हजारको लेखापरीक्षण गरिएकोमा ४ दशमलव ८४ प्रतिशत अर्थात् २ करोड ९० लाख १२ हजार बेरुजु देखिएको छ । पञ्चेश्वर गाउँपालिकाको पनि ४ दशमलव ५१ प्रतिशत अर्थात् ३ करोड ३६ लाख ६६ हजार रुपैयाँ बेरुजु फेला परेको छ ।  सुर्नया गाउँपालिकाको ३ करोड ९८ लाख २६ हजार, पुर्चौडी नगरपालिकाको ३ करोड ४६ लाख ७२ हजार, दसरथचन्द नगरपालिकाको ४ करोड ५५ लाख १ हजार र मेलौली नगरपालिकाको १ करोड ७३ लाख ३५ हजार बेरुजु रहेको छ ।