अर्धप्रशोधित तेलको मूल्य घट्यो : ‘अब भारत निकासी असम्भव’

वीरगञ्ज । अन्तरराष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थको भाउ निरन्तर उकालो लाग्दा भारत निकासी गरिरहेका स्वदेशी तेल उत्पादक अब निर्यात गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात व्यापारमा मुख्य योगदान दिँदै आएको प्रशोधित तेल निर्यात नभएपछि नेपालको निर्यात व्यापार घट्ने देखिएको छ ।  अहिलेसम्म अन्तरराष्ट्रिय बजारमा मूल्य बढिरहेको र यहाँ उद्योग गोदाममा मौज्दात रहेको तेल निकासी गर्न सकिएकोमा अब यो सहुलियत उपलब्ध नरहेको वीरगञ्जको नारायणी आयलका सञ्चालक निखिल चाचान बताउँछन् । अर्धप्रशोधित तेलको भाउ घट्न थालेकाले अब भारततर्फको निकासी असम्भव बनिसकेको चाचानले बताए ।  अन्तरराष्ट्रिय बजारबाट नेपालमा कच्चा पदार्थ भित्र्याउन ३ महीनासम्म लाग्ने र यसबीचमा पुन: मूल्य बढ्ने भएपछि यसबाट बजार मूल्यमा हुने अन्तर उपयोग गरेर स्वदेशी उद्योगले निर्यात गरिरहेका थिए । अहिले रूस र युक्रेन आपसी तनावमा अल्झिएको र मुख्य पाम उत्पादक इन्डोनेशियाले करीब १ महीनादेखि निर्यात रोकेपछि स्वदेशी उद्योगको कच्चा पदार्थको मौज्दात रित्तिएको उद्यमीहरूले बताए ।  इन्डोनेशियाले सोमवारदेखि निर्यात खुलाउने निर्णय लिएको छ । यसबाट कच्चा पदार्थको आयात केही सहज भए पनि भारत निकासी गर्न नसकिने ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् ।  ‘भारतमा सबै खालको खानेतेलको आयातमा साढे ५ प्रतिशत सीमा शुल्क र ७ प्रतिशत वस्तु तथा सेवा कर लाग्छ । हामीकहाँ सरकारले १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धिकर लिन्छ,’ रुंगटाले भने, ‘भारतको कोलकातादेखि वीरगञ्जसम्म ढुवानी खर्च नै प्रतिकिलो ८ रुपैयाँ पर्छ । यस्तोमा अब तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर भारततर्फ प्रशोधित तेल निकासी गर्न सम्भव छैन ।’ अब मूल्य अन्तरको लाभ लिएर भइरहेको निकासी सम्भव नदेखिएको उद्योगी चाचानले बताए । अहिले पुरानो मौज्दातबाट नाममात्रको निकासी भइरहेको उनले आर्थिक अभियानलाई बताए । यसअघि स्वदेशी उत्पादकले इन्डोनेशिया, मलेशिया, युक्रेन, रूस, अस्ट्रेलियालगायत देशबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । भारतले आफ्ना तेल उत्पादक र किसानको संरक्षणका लागि तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लिँदा नेपालबाट ठूलो परिमाणमा तेल निकासी हुने गरेको थियो ।  नेपालमा ल्याएको अर्धप्रशोधित तेल स्थानीय उद्योगमा प्रशोधन गरी शून्य भन्सार दरको सहुलियतमा भारततर्फ निर्यात हुँदै आएको थियो । केही समयअघि बजार मूल्य नियन्त्रणका लागि भारतले तेल आयातमा सीमा शुल्क साढे ५ प्रतिशतमा झारेपछि भारततर्फको निकासी नहुने चिन्तामा डुबेका उद्यमीलाई अन्तरराष्ट्रिय मूल्यवृद्धिले राहत दिएको थियो ।  कोरोना महामारी र रूस–युक्रेन तनावले मूल्य बढेर प्रतिमेट्रिक टन १ हजार ७५० अमेरिकी डलरसम्म पुगेको पामको अर्धप्रशोधित तेलको मूल्य अहिले १ हजार ६४० मा झरिसकेको चाचानले बताए । ‘गोदाम र बाटोमा रहेको कच्चा पदार्थको मूल्य घट्न थालेकाले अब निकासीमा मात्र होइन, स्थानीय बजारमा समेत समस्या हुने देखिएको छ,’ एक उद्योगीले भने । ‘केही महीनादेखि निरन्तर बढिरहेको अर्धप्रशोधित तेलको मूल्य अब करेक्सनको बाटोमा गएको छ । पुन: भारत निकासीका लागि कि मूल्य बढ्नुपर्छ, होइन भने भारतले आफ्नो आयात नीति परिवर्तन गरेर सीमा शुल्क बढाएमात्रै सम्भव छ,’ चाचानले भने ।

सम्बन्धित सामग्री

पाइपलाइन उद्घाटनपछि नेपालमा तेलको मूल्य घट्यो

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा दूरनियन्त्रित प्रविधिबाट नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गरेपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।