गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा स्याङ्जाको तीन ठाँउमा १२० शय्याको सुविधासम्पन्न आइसोलेसन कक्ष तयार गरिएको छ । अस्पतालको पूर्वाधार भएका ठाँउलाई आइसोलेसनमा परिणत गरिएको हो ।
पछिल्लो पटक गल्याङ नगरपालिकामा रहेको नगर अस्पताललाई आइसोलेसनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आइसोलेसन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आइसोलेसनमा परिणत गर्नका लागि प्रदेश सरकारबाट १० लाख रुपियाँ प्राप्त भएको हो । प्रदेशबाट उपलब्ध रकम भवन मर्मत र सङक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गर्ने शर्माले बताउनुभयो ।