कोभिडपछि अतिथि सत्कारमा अन्तरराष्ट्रिय ब्रान्ड: रू. २५० करोड लगानीको ‘दुसित प्रिन्सेस’ सञ्चालनमा

काठमाडौं। कोभिड–१९ पछि मुलुकको अतिथि सत्कार क्षेत्रमा अन्तरराष्ट्रिय ब्रान्ड भित्रन शुरू भएको छ । काठमाडौंको लाजिम्पाटमा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा ‘दुसित प्रिन्सेस काठमाडौं’ होटेल सञ्चालनमा आएको हो । लाजिम्पाटमै हाल सञ्चालनमा आइसकेको होटेल ल्हासा इन्टरनेशनल प्रालिले थाइल्यान्डको उक्त ब्रान्ड पहिलोपटक नेपाल भित्त्याएको हो । बहुराष्ट्रिय कम्पनी दुसित थानी पब्लिक कम्पनी लिमिटेड (दुसित)का विभिन्न हस्पिटालिटी ब्रान्डमध्ये यो एक हो । काठमाडौंमा शनिवार पत्रकार सम्मेलन गरी ‘दुसित प्रिन्सेस काठमाडौं’ होटेलका अध्यक्ष तेन्जिन जोएपा लामाले साउन १ गतेदेखि नै होटेल सञ्चालनमा आएको जानकारी दिए ।  सन् २०१६ मा निर्माण शुरू गरिएको र त्यसको ४ वर्षमा होटेल सञ्चालन गर्ने योजना भए पनि कोरोना महामारीलगायत समस्याले पछि सरेको उनले बताए । ‘होटेल सञ्चालनमा ल्याउनै समय लाग्यो । पछिल्लो समय नेपाल आउने पर्यटक तथा कर्पाेरेटहरूले ब्रान्डमा बढी चासो दिएको पाइयो,’ लामाले भने, ‘त्यसपछि थाइल्यान्डको यो ब्रान्ड भित्त्याइएको हो ।’ निर्माण शुरू भएको ८ वर्षमा सम्पन्न भई सञ्चालनमा आएको यो होटेलमा पहिला भने अन्तरराष्ट्रिय ब्रान्ड भित्त्याउने योजना थिएन । ब्रान्ड पनि भित्त्याएको र पछिल्लो वर्षका मूल्य वृद्धिका कारण उक्त लागतबाहेक थप लगानी गर्नुपरेको उनको भनाइ छ । आफ्नै थिममा होटेल सञ्चालन गर्ने भनिए पनि बुटिक प्रकारको होटेल बनेकोले पनि यसमा दुसित प्रिन्सेस ल्याउन सहज भएको उल्लेख गरिएको छ । नेपालको संस्कार, संस्कृति पनि मिलेको हुँदा यसमा सहज हुने उनको आकलन छ । १२ तलाको उक्त होटेलमा १०७ ओटा कोठा छन् । उनले यो होटेल पाँचतारे स्तरको भएको र तारा स्तर लिन प्रक्रिया अघि बढेको जानकारी दिए । अन्तरराष्ट्रिय तथा स्थानीयले पनि चासो दिइरहेको र थाई रेस्टुराँमा आकर्षण पनि भएको उल्लेख गरिएको छ । अहिले रूम रेट भने स्थानीय र अन्तरराष्ट्रिय ग्राहकका लागि समान तोकिएको छ । प्रतिरात १२५ डलर रेट राखिएको होटेलले जानकारी दिएको छ । यो अफर सेप्टेम्बर १७ सम्म रहने बताइएको छ । होटलमा वेलनेस स्पा, स्विमिङ पुल, ७० ओटा कार पार्किङको क्षमता रहेको छ । पत्रकार सम्मेलनमा दुसित इन्टरनेसनलका ग्रूप सीईओ सुफाजी सुथुम्पुनले यो होटेलसँग सहकार्य गरेर नेपालसँग हस्पिटालिटी सम्बन्ध स्थापित गर्नु गर्वको कुरा भएको बताइन् ।  काठमाडौं उपत्यका भाइब्रेन्ट सिटी हुनुका साथै नेपाल नै घुम्नुपर्ने देशको पाँचौं स्थानमा रहेकोले यहाँ सहकार्य गर्न उत्सुक भएको उनको भनाइ छ । ‘संस्कृति, ऐतिहासिक सम्पदाका कारण र साहसिक गन्तव्यका लागि नेपाल विश्वमा राम्रो स्थानमा छ,’ उनले भनिन्, ‘स्थानीयसँग सहकार्य गरेर हस्पिटालिटी सेवाका सबै सुविधा ग्राहकलाई दिन र नेपालको पर्यटन विकासका लागि प्रतिबद्ध छौं ।’ यो ग्रुपका विभिन्न ब्रान्डहरू थाइल्यान्डबाहेक, ग्रिस, अमेरिका, जापान, संयुक्त राज्य इमिरेट्स, भियतनाम, चीनलगायत देशमा छन् ।