मधेशका मुख्यमन्त्रीलाई निजीक्षेत्रको सुझाव : कृषि, पर्यटन र उद्योग समृद्धिको आधार

वीरगञ्ज । मधेशका उद्यमीले कृषि, पर्यटन र उद्योगको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पदाधिकारीले मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर मधेशको आर्थिक विकासका लागि सरकारले ती क्षेत्रको विकासमा अपनाउनुपर्ने रणनीतिबारे सुझाव दिएको हो ।  मधेशको जनसंख्यालाई कृषिमा आवद्ध गरिनुपर्ने महासंघले बताएको छ । मधेशमा धान, गहुँ मकै, तरकारी, फलफूल, माछा, मासुजस्ता कृषिजन्य वस्तुहरुको व्यावसायिक उत्पादन हुन सक्ने र यसका लागि सरकारले कृषकलाई समयमै मल, बीउ, सिंचाइँ र आवश्यकीय पूर्वाधारको ग्यारेन्टी गर्नुपर्ने सुझाव मुख्यमन्त्रीलाई दिइएको महासंघ मधेशका अध्यक्ष अशोककुमार टेमानीले बताए । कृषिलाई प्रविधिमैत्री र तुलनात्मक लाभको उत्पादनमा केन्द्रित गर्दा युवा पलायनलाई रोक्न सकिने उद्यमीको दाबी छ । मधेशमा भारतीय पर्यटक आउने सम्भावना अधिक रहेकाले त्यसअनुसार पर्यटनका कार्यक्रम ल्याउन पनि माग गरिएको छ । सिमानामा भारतीय रुपया सटहीको व्यवस्था, पर्यटकसँग असल व्यवहारको आवश्यकता औंल्याउँदै सवारीका साधनको सहज व्यवस्थाका लागि आग्रह गरेका छन् ।  उद्योग स्थापनाका लागि वातावरणीय प्रभाव मूल्यांकनको समस्या सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । मधेश सरकारको कार्य विभाजन नियमावली–२०७९ ले यसको अधिकार वन तथा वातावरण मन्त्रालयलाई दिएपछि उद्योगहरूको दर्ता, पूँजी तथा क्षमता वृद्धिलगायतका प्रक्रियामा अनावश्यक झन्झट थपिन गएको उनीहरूको भनाइ छ ।