चितवन । दूध विक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर विक्री हुन नसक्दा किसान सो रकम बराबरको क्षति बेहोर्न बाध्य भएका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यले सो मात्रामा दूध विक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दूध नउठ्दा किसानले समस्या झेल्नुपरेको हो । उनले दूध नउठ्दा समस्या भएको बताए ।
साउनयताको भुक्तानी रु ५२ करोड पाउन बाँकी भए पनि अहिले विक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ ।
दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने चितवनबाट जिल्लाबाहिर दैनिक एक लाख ५० हजार लिटर दूध जाने गरेको छ, जसमध्ये ६० हजार लिटर दूध विक्री हुन नसकेको हो ।
सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दूधसमेत उठ्न छाडेको उनले गुनासो गरे । ‘सहमति भएको छ । तर, कार्यान्वयनमा आएको छैन,’ उनले भने, ‘सहमतिअनुसार आइतवारबाट दूध उठ्नुपर्ने भए पनि आजसम्म दूध उठेको छैन ।’
दूध लैजाने उद्योगले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महँगो मूल्यमा दूध खानु परेको बताए । बगालेले भने, ‘दूध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन ।’ चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ । रासस