माघ ६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन् ।
बिहीवार परीक्षा नियन्त्रण कार्यालयको बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आइतवारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको जानकारी दिइएको छ । यद्यपि, शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने छ ।
तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी त्रिविले गरेको थियो ।
ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रिविले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।