चिनियाँ जहाज किन्न प्रस्ताव परेन, पुन: टेन्डर आह्वान

काठमाडौं। गत पुस ५ गते पाँचओटा चिनियाँ जहाज विक्रीका लागि बोलपत्र आह्वान गरेको नेपाल वायुसेवा निगमले क्रेता नपाएपछि बोलपत्र दोहोर्‍याएको छ । विगत वर्षदेखि नै ग्राउन्डेड चिनियाँ जहाजहरू विक्रीका लागि निगमले मंगलवार पुन: टेन्डर आह्वान गरेको हो । गतवर्ष निगमले चिनियाँ जहाज भाडामा लगाउन पनि प्रस्ताव आह्वान गरेको थियो । भाडामा लिन इच्छुक कम्पनी नपाएपछि निगमले ती जहाज विक्रीका लागि प्रक्रिया अघि बढाएको हो । पहिलो बोलपत्र आह्वानमा जहाज खरीद गर्न कसैले चासो नदिएपछि निगमले दोस्रोपटक टेन्डर आह्वान गर्नुपरेको हो ।  तोकिएको अवधिभित्र कुनै पनि प्रस्ताव नआएपछि पुन: टेन्डर आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘चिनियाँ जहाज विक्रीका लागि इच्छुक कम्पनीलाई आह्वान गरिएको तर तोकिएको म्यादमा कुनै आवेदन नपरेको हुँदा पुन: टेन्डर आह्वान गरिएको हो,’ पौडेलले भने । ग्राउन्डेड चिनियाँ जहाज विक्रीका लागि इच्छुक आवेदनकर्ताले फेब्रुअरी २१ (फागुन ९ गते) सम्म निगममा प्रस्ताव पेश गर्नुपर्ने छ । सरकारले २०७१ वैशाखदेखि चिनियाँ जहाज ल्याउन थालेको थियो । उसले दुईओटा अनुदानमा र चारओटा ऋणमा किनेर ल्याएको थियो । एमए–६० र वाई–१२ई जहाज १–१ थान चीन सरकारको सहयोगमा ल्याइएका थिए । बाँकी एमए–६० र ३ ओटा वाई–१२ई जहाज सहुलियत ब्याजको ऋणमा ल्याइएको हो । साता वर्ष ग्रेस अवधि र २० वर्षसम्ममा ऋण चुक्ता गर्ने गरी सरकारले ती जहाज खरीद गरेको थियो । यी जहाज खरीदका लागि सरकारले पटकपटक गरी ४ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो ।  दुईओटा न्यारोबडी जहाज ‘वेट लिज’मा लिने वायुसेवा निगमको तयारी  अहिले बीमा र पार्किङका लागि मात्रै वर्षमा २० करोड रुपैयाँ तिर्न परेको भन्दै एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गुनासो गरेको थिए । उनले भनेका थिए, ‘चिनियाँ जहाज कसरी र किन किनियो भन्ने खोज्दै जान सम्भव छैन ।  अझै कति ऋण तिर्ने ?’ निगमले २०७८ कात्तिकदेखि ऋणको किस्ता तिर्न शुरू गर्नुपर्ने थियो । त्यसको १ वर्षपछि निगमले जहाज विक्रीका लागि २०७९ मङ्सिरमा जहाजको मूल्यांकन प्रक्रिया थालेको थियो । त्यतिबेला अर्थ मन्त्रालयले विक्री वा भाडामा दिने विकल्प दिएको थियो । तर, ती जहाज भाडामा पनि कसैले लगेन । अहिले विक्रीका लागि प्रयास गर्दा पनि कसैले बोलपत्र पेश गरेन । यसैगरी निगमले दुईओटा न्यारोबडी जहाज वेट लिज (जहाज, क्रु, मर्मतसम्भार र बीमा (एसीएमआई) इच्छुक कम्पनीले व्यवस्थापन गर्ने) मा लिन मंगलवार नै अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । दुईओटा वाइड बडी र दुईओटा न्यारोबडी जहाजबाट सेवा दिँदै आएको निगमले थप दुईओटा न्यारोबडी जहाज वेट लिजमा लिन टेन्डर आह्वान गरेको हो । निगमले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार न्यारोबडी जहाजले उडान चापको माग धान्न नसकेको भन्दै थप जहाजका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।  निगमका अनुसार हाल दुईओटा वाइड बडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदै आएका छन् । ‘अन्य सेक्टरमा दुईओटा न्यारो बडी जहाजले उडान चापको माग धान्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘थप भएका जहाजले दिल्ली, दुबई, दोहा, मलेशियालगायत सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको छ ।’  

सम्बन्धित सामग्री

कवाडमा पनि बिकेनन् अर्बौंका चिनियाँ जहाज

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दोस्रो पटक लिलामका लागि राखेका पाँच चिनियाँ जहाज सकार्न कुनै पनि प्रस्ताव नपरेपछि मंगलबार पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ।

देखापढी विजिनेश न्यूज

काठमाडौं।अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगीहरुलाई आश्वासन दिए। कोरोना बीमाको पैसा दिन नसक्ने भन्दै पुर्नबीमा कम्पनीले बीमा प्राधिकरणलाई फेरि पत्र पठायो। नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाज बिक्री गर्न जहाज मूल्याङ्कनका लागि टेन्डर आह्वान गरेको छ। खाद्य व्यवस्थाले बर्दियामा आउँदो शुक्रबारदेखि किसानको धान किन्ने भएको छ। सेग्वे नाइनबटले काठमाडौंका १० स्थानमा चार्जिङ स्टेसन जडान गर्दैछ।