कोरोना महामारीका कारण करिब डेढ वर्ष सुनसान बनेका सम्पदा क्षेत्रमा अझै चहलपहल बढ्न सकेको छैन। त्यहाँ पुग्ने पर्यटकको संख्या निकै कम हुँदा सम्पदा क्षेत्र अझै सुनसान बनेका हुन्। प्रायः विदेशी पर्यटकहरूले...
जेठ १७, मुस्ताङ । मुस्ताङको प्रमुख पर्यटकीयस्थल लोमान्थाङमा पर्यटकको आगमन हुनथालेपछि पुरानै लयमा फर्किन थालेको छ ।
कोरोनाको महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको लोमान्थाङमा चालू यामदेखि पर्यटकको चहलपहल बढेको हो । लोमान्थाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टासी गुरुङले दुई वर्षपछि पर्यटकको आगमनले पुरानै लयमा फर्किएको बताए ।
‘होटल र होमस्टे पाहुनाले भरिएर घरमा समेत सुताएका छौँ,’ उनले भने, ‘यसअघिको दुई वर्ष पर्यटक आगमन शून्य थियो ।’ आइतवार सकिएको लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले मनाउने सबैभन्दा ठूलो पर्व तिजीमा हालसम्मकै धेरै पाहुना भित्रिएका अध्यक्ष गुरुङले बताए ।
लोमान्थाङ सीमा प्रहरी चौकीका अनुसार जेठ महीना शुरु भएयता ३८९ विदेशी पर्यटक भित्रिएका छन् । लोमान्थाङ प्रवेशका लागि विदेशी पर्यटकले १० दिनका लागि प्रतिव्यक्ति ५०० डलर नेपाल सरकारलाई प्रवेश शुल्क बुझाउनुपर्छ ।
लोमान्थाङमा रहेका ३५ होटल पाहुनाले भरिभराउ छन् । चैत–वैशाख–जेठ र असार महीना लोमान्थाङ भ्रमणका लागि उपयुक्त समय हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) को लोमान्थाङ संरक्षण कार्यालयका कर्मचारी रामबहादुर गुरुङले अभिलेख नराखिए पनि विदेशीको तुलनामा नेपाली पर्यटक धेरै आएका छन् भने । सडक यातायातको सहज पहुँचसँगै लोमान्थाङमा स्वदेशी पर्यटकहरु बढेका उनले बताए ।
जोमसोम–कोरला ११० किलोमिटर दूरीको सडक स्तरोन्नति भएपछि अहिले पोखरादेखि एकै दिनमा लोमान्थाङ पुग्न सकिने भएको छ । समथर, नाङ्गा र फुस्रा पहाडले घेरिएको लोमान्थाङ आसपासका क्षेत्रमा गुम्बा, गुफा, दरबार, लोवा समुदायको कला संस्कृति र हिमाली जीवनशैली आकर्षण बनेका छन् ।
स्पेनका पावलले लोमान्थाङको पृथक र आकर्षक भूगोल, जीवनशैली, पुराना सम्पदा, कला र संस्कृति अवलोकन गर्न पाएकामा खुसी व्यक्त गरे । काठमाडौंबाट आएका सिर्जन घर्तीले लोमान्थाङलाई जीवन्त इतिहासका रुपमा पाइएको बताए ।
३० फिटभन्दा अग्लो माटोको पर्खालले घेरिएको बस्तीको बीचमा लोमान्थाङ दरबार छ । यहाँका घर, दरबार, गुम्बा सबै माटोले बनेका छन् । प्रकृति, संस्कृति, रहनसहन, संस्कार र मौलिक जीवनशैली आदि सुन्दरताकै कारण लोमान्थाङ पर्यटकको रोजाइमा परेको पथप्रदर्शक अमरसिंह दुलालले बताए ।
लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा खालका कलाकृति र सामग्रीहरु पनि छन् । चराङ, मराङ र लोमान्थाङका मौलिक प्रविधिको प्रयोग गरेर निर्माण भएका गुम्बाहरु पनि यहाँको आकर्षणको विषय बनेको छ । लोमान्थाङबाट तिब्बतको सिमानामा रहेको कोरला नाका, छोसेर र छोन्हुपको भ्रमण गरी पुनः लोमान्थाङमै बास बस्न फर्कने गरेका छन् । रासस
रसुवा । कोरोना भाइरस संक्रणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ तथा गोसाइँकुण्ड पदमार्गमा विदेशी पर्यटक आगमन बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह््य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन शुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज पुनः सञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ । एक–दुई दिन अगाडिदेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार–पाँचजना बाह्य पर्यटक आइरहेको होटल व्यवसायीले बताएका छन् ।
अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्य समेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए ।
गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधवार परेको हिमपात एवं लौरीविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृंखलाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगंगा–८ का २४ वर्षीय हरि अर्यालले बताए । रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटककोे रूपमा गोसाइँकुण्ड आएका अमेरिकी नागरिक पाठरिक र बेलायतबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताए । पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उनको भनाइ छ । चन्दनबारी, लौरीविनायक र गोसाइँकुण्डमा एक सातासम्म बस्ने उनीहरूको योजना छ ।
शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, गृष्म ऋतुको जेठ, शरद् ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महीना हिमाली पदयात्राका लागि अत्यन्त उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व. डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्ग अन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्धिम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले बताएका छन् । रासस
भक्तपुर । दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झन्डै दुई वर्ष सुनसान बन्यो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवसायमा बल्ल आशा पलाउन थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको छ । विदेशी पर्यटकको प्रमुख आकर्षण र गन्तव्य बन्दै आएको भक्तपुर नगरपालिका क्षेत्रमा अहिले दैनिक ६० देखि ९० जनासम्म पर्यटक आउन थालेका हुन् ।
नगरपालिकाको पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले पर्यटकविना सुनसान बनेको भक्तपुरको सम्पदामा विदेशी पर्यटक देखिन थालेपछि रौनक बढेको बताए । पर्यटकको आगमन हुन थालेपछि नगरपालिकाले सुरक्षितरूपमा पर्यटन व्यवसाय सञ्चालन एवं पर्यटकलाई सुरक्षित राख्ने गरी योजना अगाडि सारेको छ । नगरपालिकाले पर्यटकलाई कोभिडबाट सुरक्षित रहने वातावरण बनाउन आवश्यक तयारी गरेको छ । होटल व्यवसायीसँग पनि पर्यटकलाई कोभिडबाट सुरक्षित राख्नेगरी व्यवस्थापन गर्न व्यवसायीसँग छलफल गर्दै आएको छ । यद्यपि अहिले भक्तपुर आउने पर्यटक भने धेरैजसो दिनभरि घुमेर फर्कने गरेका छन् । रात बस्नेगरी आउने पर्यटक फाट्टफुट्टमात्रै भएकाले होटल व्यवसाय भने पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।
विदेशी पर्यटकबाट वार्षिक करीब २६ करोड राजस्व संकलन गर्दै आएको नगरपालिकाले कोभिड महामारीका कारण दुई वर्ष यो नोक्सानी बेहोर्नुपरेको छ । केन्द्रका प्रमुख लासिवाले भने, ‘आर्थिक वर्ष २०७६/७७ मा पर्यटन शुल्क करिब २६ करोड संकलन भएकोे थियो, कोरोनाका कारण पर्यटकको आगमन बन्द भएपछि आव २०७७/७८ मा जम्मा २९ लाखमात्रै उठ्यो ।’
पर्यटन शुल्कबाट उठेको रकम नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा खर्च गर्दै आएको जानकारी उनले दिए । पर्यटन सूचना केन्द्रका प्रमुख लासिवाका अनुसार यस वर्ष साउनमा २२८, भदौमा ३८०, असोजमा ९६४ र कात्तिकमा अहिलेसम्म १ हजार ९२३ पर्यटकको आगमन भइसकेको छ ।
पहिलो लकडाउन अगाडिसम्म भक्तपुरमा दैनिक तीन हजार र वार्षिक दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । नगरपालिकाले सार्क राष्ट्र तथा चीनका पर्यटकबाट प्रतिपर्यटक ५०० र अन्य राष्ट्रका पर्यटकबाट प्रतिपर्यटक एक हजार ५०० रुपैयाँ पर्यटन शुल्क संकलन गर्दै आएको छ । विगत वर्षमा यहाँ सबैभन्दा बढी पर्यटक चीनका र त्यसपछि भारत, अमेरिका, फ्रान्स, स्पेनलगायत देशबाट आउने गरेका थिए ।
नगरपालिकाले भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण गर्दै आएको छ भने कतिपय पुरिएका र गौण रहेको महŒवपूर्ण सम्पदाको पुनर्निर्माण पनि थालेको छ, जसअन्तर्गत दूधपाटीस्थित भाजु पोखरी पुनर्निर्माण भइरहेको छ भने नेपाली सेनाको क्याम्पभित्र लोप हुने अवस्थामा पुगेको रानीपोखरीे पुनर्निर्माण गरी नेपाली तथा विदेशी पर्यटकको अवलोकनका लागि खुला गर्ने तयारी छ । नेपालमा अंग्रेजीको अक्टोबरको अन्तिम, नोभेम्बर पूरै र डिसेम्बरका दुई हप्तालाई पर्यटकीय याम मानिँदै आएको छ । अक्टोबर र नोभेम्बरमा नेपाल आएका पर्यटक क्रिसमस मनाउन डिसेम्बरको अन्त्यतिर स्वदेश फर्कने गरेका छन् । केन्द्रका अनुसार विगतमा नेपाल भ्रमणमा आएका करीब ३५ प्रतिशत पर्यटक भक्तपुरको सम्पदा अवलोकनका लागि आउने गरेका र तीमध्ये धेरैजसोले यहाँ तीन÷चार घण्टामात्रै बिताउने गरेका थिए । रासस
भक्तपुर – दैनिक दुई हजारसम्म पर्यटक आउने भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदा क्षेत्र झण्डै दुई वर्ष सुनसान बन्यो। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले नराम्रोसँग असर पारेको नेपालको पर्यटन व्यवासायमा बल्ल आशा पलाउन थालेको छ। लामो समयपछि विश्व सम्पदा सूचीमा सूचीकृत यहाँका सम्पदा अवलोकन गर्न विदेशी पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायमा चहलपहल बढेको हो। विदेशी पर्यटकको […]
काठमाण्डौ - आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवसको अवसरमा यो वर्ष नेपालमा औपचारिक कार्यक्रम गरिएको छैन ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण सम्पदा क्षेत्रमा असर परेको छ । नेपालका महत्वपूर्ण सम्पदा क्षेत्र अहिले सुनसान छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने गरी गरेको तयारी कोरोना संक्रमणको महामारीका कारण स्थगित भएको...