जेठ १७, झापा । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् ।
उनीहरुले लगाएको मकैमा दाना लाग्न शुरु भएसँगै खेतबाटै बोटैसँगै मकै विक्री हुन थालेपछि उनीहरु उत्साहीत भएका हुन् ।
जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरीद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट छन् ।
मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै विक्री गरेको छ । उनले लगाएको एक बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरुले खरीद गरेका थिए । ‘मकै भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो,’ उनले भने, ‘बिना झन्झट बोटमै विक्री भएपछि बिना खर्च आम्दानी पनि बढ्यो ।’
किसान पोखरेलले खेतबाटै प्रतिकेजी चार रुपैयाँ पचास पैसाको दरले बोटसँगैको मकै विक्री गरेको बताए । मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको विक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ ।
मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरीद गर्र्दै आएको छ ।
एनएमसीले मेचीनगर १४ स्थित दुहागढीमा प्राङ्गारिक नमूना तरकारी खेतीसँगै गाईफाम समेत सञ्चालन गर्दै आएको छ ।
संस्थालाई माडामा लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरीद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए ।
उनले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरीद गरिएको जानकारी दिए । चैत महीनाभित्र खरीद गरिएको मकै प्रतिकेजी रू. पाँच र वैशाख लागेपछि प्रतिकेजी चार रुपैयाँ पचास पैसाका दरले किसानको मकै खरीद गरिएको उनले बताए ।
अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई समेत विक्री गरिने बताए । उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, विर्तामोडलगायत ठूला साना गाई फार्महरुले करीब एक करोड केजी मकैको साइलेज बनाएको उनको भनाइ थियो ।
दुई वर्षअघि एनएमसीले साइलेज बनाउन शुरु गरेसँगै जिल्लामा अन्य फार्महरुले समेत अघि बढेका छन् । तयार भएको साइलेज विक्रीका लागि एमएमसीले बुकिङसमेत खुला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी रू. १० का दरले विक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताए । रासस
दमक : झापाका किसान यतिबेला धानको ब्याड नै सुक्न थालेपछि थप समस्यामा परेका छन्। चैते धानमा दाना नलाग्ने, बाला तथा बोट सुृक्ने र फौजी किराको समेत मार खेपेका किसान यतिबेला दिक्क भएका छन्।
रोप्न तयारी अवस्थामा पुगेको मंसिरे धानको बिउ ब्याडमै मर्न थालेको छ। दमक १० का किसान भिरेन्द्र न्यौपाने भन्छन्, &lsq...