न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : नेपालका जलविद्युत् आयोजनाको वित्तीय स्रोतको आधार

नेपालमा जलविद्युत् विकासको थालनी भएको ११ दशक बितिसकेको छ । यो तथ्यले के पुष्टि गर्छ भने अन्य पूर्वाधारको विकासको थालनीको तुलनामा जलविद्युत् विकास धेरै अगाडि शुरू भएको हो । नेपालको सबभन्दा पुरानो फर्पिङ जलविद्युत् आयोजना हो । यसको निर्माण ब्रिटिश सरकारको सहयोगमा सन् २०११ मा भएको थियो । यसको बिजुली उत्पादन क्षमता ५०० किलोवाट मात्र थियो । फर्पिङ जलविद्युत् आयोजनालाई नेपालको पहिलो जलविद्युत् योजना मात्र भनेर चिनिँदैन, यो एशिया महादेशकै दोस्रो आयोजना पनि हो । त्यसै ताकादेखि नेपालमा जलविद्युत्को सम्भावना रहेको तथ्यले नेपाली मनमस्तिष्कमा वास गर्न शुरू गर्‍यो । नेपालको समग्र विकास जलविद्युत् विकासले मात्र हुन सक्छ भन्ने सोचको शुरुआत पनि गरायो । तर, वास्तवमा यो सोचाइले मूर्तरूप भने हालसम्म पनि लिनसकेको छैन । सन् १९५६ मा पहिलो पाँचौं वर्षीय विकास योजनाको थालनी भयो । यो योजानाको विकास सँगसँगै पूर्वाधार विकासको पनि शुरुआत भयो । यस योजनामा जलविद्युत् विकासले प्राथमिकता पाए पनि लगानीको ढाँचामा भने फरक आउन सकेन । जलविद्युत् विकास अनुदान सहयोगमा नै निर्भर रह्यो । यसैको परिणाम हुन सक्छ कतिपय जलविद्युत् आयोजनाको शुरुआत प्रथम योजनाकालको अवधिमै हुन पुगेको थियो । त्यस समयमा जलविद्युत् विकास विदेशी अनुदानमा नै निर्भर थियो । त्यसताका जलविद्युत् आयोजनाको निर्माणमा अनुदान प्रदान गर्ने देशमा भारत, चीन र पूर्वसोभियत संघ पर्छन् । पार्दी (१ मेगावाट), त्रिशूली (२१ मेगावाट) र देवीघाट (१४ दशमलब १ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण भारतको आर्थिक र प्राविधिक सहयोगमा भएको थियो । सुनकोशी (१० दशमलव ५ मेगावाट) र सेती (१ दशमलव ५ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण चीन सरकारको सहयोगमा भयो । त्यसैगरी, पनौती जलविद्युत् आयोजना (२ दशमलव ४ मेगावाट) को निर्माण पूर्वसोभियत संघको आर्थिक र प्राविधिक सहयोगमा भएको थियो । सन् १९८० र सन् १९९० को दशकमा जलविद्युत् विकासमा आवश्यक हुने स्रोत परिचालनले अर्को बाटो लियो । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष र अन्तरराष्ट्रिय वित्त कम्पनीको संयुक्त पहलमा स्ट्रक्चरल आड्जस्टमेन्ट प्रोग्राम (साप) को प्रादुर्भाव भयो । वास्तवमा भन्ने हो भने त्यस समयमा भारत र चीनको सम्बन्ध नकारात्मक भएकाले नेपाललाई आआफ्नो पक्षमा उभ्याउने प्रतिस्पर्धाको उपज थिए, माथि उल्लिखित जलविद्युत् आयोजनाको निर्माण । कारण जेसुकै होस् नेपालमा जलविद्युत् आयोजना निर्माणको श्रीगणेश गर्ने माथि उल्लिखित जलविद्युत् आयोजनाहरूको निर्माणले नेपाललाई सीमित क्षेत्रमा भए पनि उज्यालो बनाउने कार्यमा अहम् भूमिका खेलेको तथ्यलाई नकार्न सकिँदैन । सन् १९७० को दशकदेखि जलविद्युत् आयोजना निर्माणमा आवश्यक हुने प्राविधिक र वित्तीय लगानीको ढाँचामा परिवर्तन हुन थाल्यो । अनुदान सहयोग ऋण सहयोगमा परिणत भयो । अर्थात्, दुईपक्षीय अनुदान सहयोग बहुपक्षीय ऋण सहयोगमा परिवर्तन हुन पुग्यो । यसैको परणाम थियो– कुलेखानी जलविद्युत् आयोजना (९२ मेगावाट) । यसको निर्माण वैदेशिक बहुपक्षीय ऋण सहयोगमा भएको थियो । जापान र कुवेतले यो जलविद्युत् आयोजना निर्माण गर्न नेपाललाई ऋण सहयोग प्रदान गरेका थिए । वैदेशिक ऋण सहयोगमा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो । दुईपक्षीय ऋण सहयोगले बहुपक्षीय संस्थागत ऋण सहायताको रूप लियो । अन्तरराष्ट्रिय मुद्राकोष, विश्व बैंक, एशियाली विकास बैंक, अन्तरराष्ट्रिय वित्त कम्पनी आदिले संसारका मुलुकहरूलाई ऋण सहायता प्रदान गर्न थाले । नेपालले पनि यी संस्थाबाट ऋण सहायता लिन लाग्यो । फलस्वरूप, केही जलविद्युत् आयोजनाको निर्माण संस्थागत ऋण सहयोगमा सम्पन्न भए । केएफडब्ल्यू, एशियाली विकास बैंक, जाइका र विश्व बैंकको ऋण सहयोगमा क्रमश: मर्स्याङ्दी (६९ मेगावाट), मध्य मर्स्याङ्दी (७० मेगावाट), कालीगण्डकी ए (१४४ मेगावाट) र अपर त्रिशूली ३ए (६० मेगावाट) जलविद्युत् आयोजनाको निर्माण भयो । सन् १९८० र सन् १९९० को दशकमा जलविद्युत् विकासमा आवश्यक हुने स्रोत परिचालनले अर्को बाटो लियो । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्रा कोष र अन्तरराष्ट्रिय वित्त कम्पनीको संयुक्त पहलमा स्ट्रकचरल आड्जस्टमेन्ट प्रोग्राम (साप) को प्रादुर्भाव भयो । सापले पूर्वाधार विकासको निम्ति आवश्यक हुने वित्तीय साधन ऋण सहयोगमार्फत जुटाउन अर्थतन्त्रमा सुधार गर्नुपर्ने शर्तको माग गर्‍यो । स्वतन्त्र बजार नै यसको मुख्य उद्देश्य रहेको थियो । नेपालले पनि सन् १९८५ देखि सापको शुरुआत गर्‍यो र सन् १९९० को दशकमा यसले पूर्णरूप पायो । यही सुधारको परिणाम थियो– नेपालका उद्योगहरूको निजीकरण । सापको कार्यान्वयनपछि विदेशी प्रत्यक्ष लगानीको ढोका खुल्यो । फलस्वरूप, जलविद्युत् विकासको क्षेत्रमा पनि वैदेशिक प्रत्यक्ष लगानीले स्थान पायो । ठूलाठूला अन्तरराष्ट्रिय कम्पनीले नेपालको जलविद्युत् विकासमा लगानी गर्न चासो देखाउन थाले । यसको उदाहरणमा भारतका जीएमआर र सतलज, नर्वेको स्टाटक्राफ्ट आदिलाई लिन सकिन्छ । यी कम्पनीले अन्तरराष्ट्रिय वित्त कम्पनीमार्फत ऋण लिएर नेपालमा ठूला जलविद्युत् आयोजनाको विकास गर्ने जमर्को गरिरहेका छन् । सोहीअनुरूप स्टाटक्राफ्टले खिम्ती जलविद्युत् आयोजना (६० मेगावाट) को निर्माण सम्पन्न गर्‍यो । त्यस्तै, संयुक्त राज्य अमेरिकाले भोटेकोशी जलविद्युत् आयोजना (४५ मेगावाट) को निर्माण सम्पन्न गर्‍यो । यी दुवै आयोजना नर्वे र अमेरिकाको वित्तीय तथा प्राविधिक सहयोगमा निर्माण भएका हुन् । यी आयोजना निर्माणले नेपालमा वैदेशिक प्रत्यक्ष लगानीको ढोका खोलिदियो । तर, नेपालमा राजनीतिक स्थायित्व हुन नसकेकाले वैदेशिक प्रत्यक्ष लगानीले जुन गति लिनुपर्ने हो त्यसअनुरूप हुन सकेको छैन । आन्तरिक वित्तीय स्रोतको आधारमा झिमरूक जलविद्युत् आयोजना (१२ मेगावाट) बुटवल पावर कम्पनीको सक्रियतामा बनेको थियो । नेपालको आन्तरिक वित्तीय स्रोत परिचालन गरेर तयार भएको यो नै पहिलो जलविद्युत् आयोजना हो । नेपालका बैंकहरू (१५ प्रतिशत) र भारतीय बैंकहरू (८५ प्रतिशत) को ऋण सहयोगमा अरूण तेस्रो जलविद्युत् आयोजना (९०० मेगावाट) सतलज विद्युत् निगमको पहलमा निर्माण भइरहेको छ । त्यसैगरी, माथिल्लो कर्णाली र पश्चिम सेती जलविद्युत् आयोजना पनि वैदेशिक प्रत्यक्ष लगानीको पर्खाइमा छन् । आन्तरिक वित्तीय स्रोत तथा साधन परिचालन गरेर पनि केही जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न भएका छन् । आन्तरिक वित्तीय स्रोतको आधारमा झिमरूक जलविद्युत् आयोजना (१२ मेगावाट) बुटवल पावर कम्पनीको सक्रियतामा बनेको थियो । नेपालको आन्तरिक वित्तीय स्रोत परिचालन गरेर तयार भएको यो नै पहिलो जलविद्युत् आयोजना हो । आन्तरिक वित्तीय स्रोतका साथै नेपालकै विशेषज्ञता प्रयोग गरी निर्माण भएको दोस्रो जलविद्युत् आयोजना २० मेगावाट क्षमताको चिलिमे हो । यसको निर्माणमा प्रविधि र वित्तीय स्रोत दुवै नेपाली परिचालन भएको छ । आन्तरिक वित्तीय स्रोत परिचालन गरेर निर्माण सम्पन्न भएको अपर तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) नेपालकै सबभन्दा ठूलो जलविद्युत् आयोजना हो । नेपालकै विभिन्न बैंक तथा वित्तीय संस्थाको ऋण सहयोगमा यसको निर्माण भएको हो । माइखोला जलविद्युत् आयोजना (२० मेगावाट) को निर्माण भने गैरआवासीय नेपालीको वित्तीय स्रोतबाट भएको हो । यसका अतिरिक्त वैकल्पिक ऊर्जा केन्द्रको संलग्नतामा आन्तरिक स्रोत परिचालन गरी एक र त्यसभन्दा कम मेगावाट बिजुली उत्पादन क्षमता भएका विभिन्न १६ जलविद्युत् आयोजना बनेका छन् । तिनीहरूबाट १२ दशमलव २३६ मेगावाट बिजुली उत्पादन भएको छ । माथिको विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने नेपालका ठूला जलविद्युत् आयोजना निर्णाण गर्न आन्तरिकका साथै बाह्य स्रोत परिचालन गर्नुपर्छ । एकाध ठूला जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोत परिचालनले सम्भव भए तापनि सबै निर्माण गर्न सकिँदैन । त्यसैले बाह्य स्रोतको परिचालन विशेष गरेर वैदेशिक प्रत्यक्ष लगानी नेपालमा भित्र्याउने वातावरणको सृजनाले जल विद्युत्को विकास गर्न सहयोग पुग्छ । विशेषगरी, भारत र बंगलादेशको संलग्नतामा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुलीले निकासी व्यापारलाई मद्दत पुर्‍याउँछ ।