धितोपत्र बोर्डको कर्मचारी युनियनले भन्यो 'लगानीकर्ताबाट अशोभनीय व्यवहार प्रदर्शन भयो'

नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले मंगलबार र बुधबार लगानीकर्ताहरु कार्यालयमा आई प्रदर्शन गरेको ब्यबहारले दुखित बनाएको जनाएको छ  । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुका तर्फबाट आफ्ना माग राख्ने क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरेकोमा दुख व्यक्त गरेको हो ।युनियनले  लगानीकर्ताहरुका तर्फबाट आफ्ना माग राख्ने क्रममा अशोभनीय व्यवहार प्रदर्शन गरी बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालय समय भन्दा पछि कार्यालय प्रवेशद्वारमा अवरोध गरी कार्यालय भित्र नै अघोषित रुपमा बन्धक बनाई कर्मचारीहरु प्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले युनियन तथा बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई दुःखित बनाएको उल्लेख गरेको छ।बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्डको अध्यक्ष नरहेको अवस्थामा नीतिगत निर्णय हुन नसक्ने अवस्थाको वारेमा बोर्ड व्यवस्थापनबाट जानकारी गराउँदै गर्दा कर्मचारीहरुलाई कार्यालय बाहिर निस्कन नदिई अमर्यादित शब्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पुगेको युनियनले जनाएको छ । युनियनले यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानको सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षा प्रवन्ध गरी सुरक्षित कार्यवातारणको प्रवन्ध गरी लगानीकर्ताहरुले दबाव मार्फत आफ्ना समस्या समधान गर्नु नपर्ने व्यवस्थित प्रणाली विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष माग गरेको छ। साथै सम्पूर्ण कर्मचारीहरुको इमान्दारीता माथि निराधार आक्षेप लगाउने तथा तथ्यहिन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी पुँजी बजार जस्तो संवेदनशील क्षेत्रको नियमन निकायमा सहज रुपमा कार्य वातावरण बन्न नदिइ बजारबाट अबान्छित लाभ लिन प्रयत्न गर्ने व्यक्ति समूहलाई बल पुग्ने प्रति चनाखो हुन सम्पूर्ण सरोकारपक्षसँग संगठनले अपिल समेत गरेको छ।