म्याग्दी। म्याग्दीबाट चालू आर्थिक वर्ष २०८०/८१ मा करीब २० करोड रुपैयाँको सुन्तला निकासी भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा ७५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेको भए पनि ४०० हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइएको छ ।
यस वर्ष तीन हजार ६०० मेट्रिक टन सुन्तला फलेको र न्यूनतम मूल्य प्रतिकिलो ५५ रुपैयाँका दरले विक्री गर्दा पनि कृषकले १९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको ज्ञान केन्द्रको अनुमान छ । ‘सरदर प्रतिकिलो रु ५५ का दरले विक्री गर्दा पनि रु १९ करोड ८० लाख भन्दा बढी आम्दानी भएको देखिन्छ’ केन्द्रका प्रमुख सञ्जीव वास्तोलाले भने, ‘प्रतिकिलो ६०/६५ रुपैयाँसम्ममा पनि कृषकहरुले विक्री गर्नुभएको छ, यस हिसाबले २० करोड रुपैयाँ भन्दाबढी मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं ।’ अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको उनको भनाइ छ । यहाँ उत्पादन भएका सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौं, चितवन, मुग्लिन लगायतका बजारमा निकासी हुँदै आएको छ ।
जिल्लाको भकिम्ली,राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।
कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले यस पटक प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन् । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन भई १३ करोडको कारोबार भएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा करीब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन भई १९ करोड रुपैयाँ भन्दाबढी आम्दानी भएको थियो । यस वर्ष मंसिरको अन्तिम सातादेखि सुन्तला टिप्न शुरू भएको थियो ।