गण्डकी प्रदेश सरकारका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र नयाँ सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख गुरुङले सरकार ढलेको पाँच दिनपछि मङ्गलबार सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर वैशाख १४ गते बिहीबार ४ बजेभित्र सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको छ। शनिबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उहाँको नेतृत्वको सरकार ढलेको थियो। ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ। प्रदेश सभामा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात, एमालेका २२, एकीकृत समाजवादीको एक, राप्रपाका दुई सांसद रहेका छन्।