पाठेघरको मुखमा क्यान्सर कम गर्न सकिन्छ जोखिम

महिलालाई पाठेघरको मुखको क्यान्सर छ भनेर हेला त गर्नुभएको छैन ? पुरुषका कारण पनि यो रोग लाग्न सक्ने विशेषज्ञहरू बताउँछन् । परोपकार प्रसूूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जति महिलाले आफ्नो स्वास्थ्यका लागि हेरचाह गर्नुपर्ने हुन्छ, त्यति नै पुरुष वा श्रीमान्ले पनि सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) महिला तथा पुरुषमा शिक्षा र चेतनाको कमीले हुने गरेको बताउनुभयो । डा. सुवेदीले भन्नुभयो, “धेरै बिरामी यस्ता पनि आएका छन् । जो महिलामा क्यान्सर भएको पुष्टि भएपछि आफ्नो श्रीमान्ले छोड्ने गरेका छन् । जुन समयमा पतिको सहयोग, साथ र आत्मीयता आवश्यक भएको बेला श्रीमान्ले छोड्ने गरेका बिरामी पनि धेरै छन् ।” “पाठेघर क्यान्सरको मुख्य कारण भनेको ‘ह्युमन पापिलो’मा भाइरसले हुने हो, महिलामा यो भाइरस आफैँ आउने होइन, पुरुषबाटै सर्ने हो । असुरक्षित यौन सम्पर्क, सरसफाइमा कमी, पुरुषले एकभन्दा बढी महिलासँग शारीरिक सम्बन्ध राख्नेजस्ता कारणबाट भाइरस सर्ने हुन्छ,” डा. सुवेदीले प्रस्ट पार्दै भन्नुभयो ।