अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ स्थानीयले जेठ १९ गतेसम्म खरीद गर्न सक्ने

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि जारी गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले जेठ १६ गतेसम्मको लागि यसअघि आईपीओ विक्री मिति तय गरेकोमा अवधि थप गरी जेठ १९ गतेसम्म कायम गरेको हो । आयोजना प्रभावित स्थानीयसँगै जारी भएको वैदेशिक रोजगारीमा गएका नेपालीको आईपीओ भने आजसम्म मात्र विक्रीमा रहने भएको छ ।  कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । स्थानीयका लागि विक्रीमा आएको आईपीओ खरीदका लागि लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं. १ र २, खुदी गाविस वडा नं. ३, ताघ्रिङ गाविस-४, घेरमु गाविस-५, बाहुन डाँडा गाविस- ६, भुलभुले गाविस वडा नं. ७ र ८ तथा सिमपानी गाविस-९) का बासिन्दाले आवेदन दिन सक्नेछन् ।  पहिलो चरणको आईपीओ निष्कासनपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि भने आयोजना प्रभावित स्थानीयले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीयय बासिन्दाले विक्री प्रबन्धकसँगै सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले लमजुङ जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ ।