कोरोनाको असर चितवनका सरकारी कार्यालयमा : बाक्लिंदै संक्रमण, पातलिंदै सेवाग्राही

वैशाख १३, चितवन । देशभर कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै चितवनका सरकारी कार्यालयमा समेत यसको असर पर्दै गएको छ ।  कोरोना महामारीका चितवनमा दैनिक औषत दुई गुणा संक्रमितको संख्या वृद्धि भएको छ । संक्रमित र मृत्युको संख्या बढ्दै जाँदा यसको प्रत्यक्ष असर चितवनका अधिकांश सरकारी कार्यालयहरुमा परेको छ । आइतवारको तथ्यांक अनुसार चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ  जसका कारण एकसाता अघिमात्र भीडभाड हुने सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति घट्दै गएको छ  । चितवनका मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण तथा घरेलु तथा साना उद्योग लगायतका कार्यालयमा सेवाग्राहीको चाप कम हुँदै गएको पाइएको छ ।  मालपोत कार्यालय भरतपुरका सूचना अधिकारी  हेम तिमिल्सिना  कार्यालयमा दैनिकजसो सेवाग्राहीको चाप घट्दै गएको बताउँछन् । ‘कार्यालयमा सबै किसिमका गरी दैनिक १२० जनाको भन्दा बढीको काम हुन्थ्यो ’, उनले भने हाल २० प्रतिशत सेवाग्राही घटेको पाएका छौं ।’ हाल रजिष्ट्रेसन पासभन्दा बैंक धितो राख्ने सेवाग्राही धेरै भएको उनले बताए ।  हुनत भरतपुर नारायणगढका मुख्य बजारमा पनि मानिसको उपस्थिति कम हुँदै गएको छ । आर्थिक गतिविधि पनि घट्दै गएको छ । कोरोनाका जोखिमकै कारण स्थानीय प्रशासनले महानगरका हरेक पसल, होटल, रेष्टुरेण्ट राती ८ बजेभन्दा बढी समय खोेल्न निषेध गरिएको छ । कारोबारमा ह्रास आएपछि व्यवसायीहरु पनि चिन्तामा देखिन्छन् ।  कोरोना जोखिम र व्यवसायमा ह्रास देखिएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ । कार्यालयका सूचना अधिकारी कपिलराज नेपाल वैशाख महीना शुरु भए यतानै सेवाग्राहीको संख्यामा कम हुँदै गएको बताउँछन् । ‘वैशाख अघिसम्म सेवाग्राहीको चाप पनि बढी थियो, राजस्व संकलन पनि उल्लेखनीय थियो तर यो क्रम ह्वातै घटेको छ’,उनले भने । केही दिन अघिमात्र कोरोना भ्याक्सिनको दुबै डोज लगाइसकेका उक्त कार्यालयका चारजना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको त्रासका कारण र व्यापार व्यवसायमा मन्दी आएपछि सेवाग्राही घट्दै गएको हुन सक्ने उनको भनाइ छ ।  यसैगरी चितवनमा सार्वजनिक यातायात तथा निजी यातायातको आगमनमा पनि केही कमी भएको देखिन्छ । कतिपय नागरिकहरु घरबाट निस्कन छाडेका छन् । सेवाग्राहीको उत्तिकै चाप हुने भरतपुरको यातायात व्यवस्था कार्यालयमा पनि चाप घट्दै पाइएको छ ।  कार्यालयका लेखाप्रमुख सम्राटमणी अधिकारी  वैशाख लागेदेखिनै कार्यालयमा आउने ५० प्रतिशत सेवाग्राही कम भएको बताउँछन् । ‘वैशाखबाट ५० प्रतिशतनै सेवाग्राही कम भएको छ’, उनले भने, ‘यसअघि दैनिक ८०० जनाको हाराहारीमा सेवाग्राही थिए । अहिले ४०० जनाको हाराहारीमा छन ।’ यसअघि सेवाग्राहीको चाप बढ्दा एकजना सेवाग्राहीको लागि १ घण्टा समय लाग्थ्यो अहिले सेवाग्राहीले कुर्नुनपरेको उनले बताए । भरतपुरको विद्युत् कार्यालयमा पनि दैनिकजसो सेवाग्राहीको चाप बढ्दै गएकोमा हाल आएर सेवाग्राहीको चाप घट्दै गएको छ । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्मा यो अनुपात गत हप्ताबाटनै कम भएको बताउँछन् । ‘अधिकांश सेवाग्राहीले अनलाइन भुक्तानी मार्फत बिल तिर्ने गरेका छन् ’, उनले भने, ‘अनलाइन बिल भुक्तानी गर्न नजान्ने सेवाग्राही मात्र कार्यालय आएको पाएका छौं ।’ यसअघिसम्म दैनिक ६०० जनासम्म सेवाग्राहीले सेवा लिएपनि यो संख्या ५० प्रतिशतभन्दा कम भएको उनले बताए ।  यसअघि कोरोनाको असर कम हुँदै जाँदा उद्योग व्यवसाय दर्ता गर्न आउने घरेलु तथा साना कार्यालयमा सेवाग्राही घट्न थालेका छन् । दिनहुँ १०० ओटाभन्दा बढी उद्योग व्यवसाय दर्ता गर्ने उक्त कार्यालयले हाल अधिकतम ५० ओटाकोे हाराहारीमा उद्योग व्यवसाय दर्ता हुने गरेको जानकारी दिएको छ । कार्यालयका कम्युटर अपरेटर नायब सुब्बा  गौतम मैनालीले कोरोनाको त्रास र आर्थिक वर्षको अन्तिम मिति नजिकिदै गएकोले पनि सेवाग्राही कम भएको बताउँछन् ।  ‘आर्थिक वर्ष अन्त्य हुने समय पनि आउन लाग्यो । उद्योग व्यवसाय भन्दा पनि मानिसको स्वास्थ्य ठूलो कुरा भयो’, उनले भने, ‘पछिल्लो समय मानिसमा स्वास्थ्य चेतना पनि छ, भय र त्रास पनि बढ्दै गएको छ । ’  

सम्बन्धित सामग्री

कोरोनाको असर घरजग्गा व्यवसायमा : बैंकको ब्याज बढ्दो, घरजग्गाको भाउ घट्दो

जेठ २४, चितवन । करीब तीन वर्षदेखि ओरालो लाग्दै गएको चितवनमा घरजग्गाको कारोबार कोरोनाको कहरले झनै थला परेको छ । निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भएपछि घरजग्गा कारोबार ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । निशेधाज्ञा अघि घरजग्गा कारोबारले बामेसर्न थालेपनि हाल निशेधाज्ञापछि भने कारोबार, कर्जाका काम तथा अंशवण्डाको काम रोकिएकाले यस क्षेत्रमा असर परेको हो । जसले गर्दा जग्गा व्यवसायीले  करौडौं रकम ब्याज तिर्न सकेका छैनन् भने  घरजग्गाको भाउमा पनि वृद्धि हुन नसकेको व्यवसायीले बताउँदै आएका छन् ।बिक्रमबाबा हाउजिङ्ग कम्पनीका अध्यक्ष लेखराज पन्त कित्ताकाट बन्द भएका कारण र कोरोनाको कारण घरजग्गा व्यवसायी घर न घाटको  अवस्थामा पुगेको बताउँछन् । ‘एक त कित्ताकाट बन्द छ, अर्कोकुरा कारोबार पनि छैन, भाउपनि छैन’, उनले भने ।  बैंकको ब्याजको तुलनामा जग्गाको भाउ कम हुँदा आफूहरु थप थलिंदै गएको उनले बताए । हाल जिल्लाका मालपोत कार्यालयमा अंशवण्डा, केही रजिष्ट्रेन पास र कर्जाका लागि जग्गा रोक्का गर्न नपाउँदा व्यवसायीलाई मात्र नभई सेवाग्राही र सरकारलाई समेत असर परेको छ ।  प्रभु हाउजिङ्ग कम्पनीका अध्यक्ष एवं नारायणी घरजग्गा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष केशव कार्की घरजग्गा व्यवसायलाई सरकारले व्यवसायको रुपमा नहेर्दापनि यो क्षेत्र तहसनहस भएको बताए ।  ‘घरजग्गा क्षेत्रमा व्यवसायीको आकर्षण पनि छ, हरेक नागरिकको लागि आवश्यक क्षेत्र पनि हो’, उनले भने, ‘सरकारले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित नबनाउँदा यस क्षेत्र धराशायी हुँदै गएको हो ।’ उनले सरकारले नेपालबाट गिटी बालुवा पैठारी गर्न  नीति बनाउंँछ तर भू–उपयोग नीति भने लागू गर्न नसकेको बताए ।  आर्थिक गतिविधि ठप्प हुँदा र  मानिसको क्रयशक्ति क्षमतामा ह्रास हुँदा पनि  घर जग्गा  कारोबारमा शिथिलता आएको हो । यो क्षेत्र करोडौंको रुपैयाँ लगानी हुने क्षेत्र र  अन्तरनिर्भर व्यवसाय पनि हो ।  घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र चलायमान बनाउँदैन यसले राजस्व संकलनको साथै अन्य व्यवसायलाई पनि गति दिनका लागि सहयोग गर्दछ । ‘घरजग्गा व्यवसायले यस क्षेत्रलाई मात्र प्रभाव पार्देन चितवन गुराँस इन्भेष्टमेण्ट एण्ड डेभलपर्स प्रालिका प्रबन्ध सञ्चालक दिनेशकुमार चुके भन्छन, ‘यसक्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने होटल,यातायात तथा बैकिङ्ग क्षेत्रलाई पनि चलायमान बनाउँछ ।’ विगत केही वर्षदेखि सुस्ताएको घरजग्गा व्यवसायलाई कोरोनाका कारण मालपोत कार्यालय बन्द हुँदा थप समस्या परेको उनले बताए । यसक्षेत्रलाई उकास्न र घरजग्गामा सबै नागरिकको पहुँच बनाउन भूउपयोग नीति र सरल किस्ताबन्दी र सहुलियत ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने उनको बुझाइ छ । अघिल्लो वष भन्दा कोरोना कहरपछि झण्डै ८० प्रतिशतसम्म घरजग्गा कारोबारमा कमी आएको उनले बताए । निशेधाज्ञाले राजस्व संकलनमा पनि असर    चितवनमा निशेधाज्ञाका कारण   गत वैैशाख १७ गतेदेखि जिल्लाका मालपोत कार्यालय बन्द हुँदा राजस्व संकलनमा पनि असर परेको छ । प्राय दैनिक भीडभाड हुने सरकारी कार्यालय भित्र पर्ने यो कार्यालयमा निशेधाज्ञा कारण झण्डै डेढ महीनादेखि कार्यालय सञ्चालन आउन सकेको छैन । एकातिर राजस्व संकलनमा असर परेको छ भने अर्कोतिर सेवाग्राहीको काम समेत प्रभावित भएको छ । मालपोत कार्यालय भरतपुरका प्रमुख शेरबहादुर भण्डारी निशेधाज्ञाका कारण मालपोत कार्यालय बन्द हुँदा राजस्व संकलनमा ठूलो असर पुगेको बताउँछन् । ‘मासिक १८ करोड रुपैयाँसम्म राजस्व उठ्ने यो कार्यालयमा अहिले बन्द  हुँदा संकलन शून्य छ’, उनले भने ।   कार्यालयका अन्य आन्तरिक काम पनि हुन नसकेको र अन्य कर्मचारी पनि जोखिमका कारण कार्यालय जान नसकेको उनले बताए । आर्थिक वर्ष अन्त्यको समय आएकोले र यसलाई लयमा फर्काउन आंशिक रुपमा भएपनि कार्यालय सुचारु गर्नुपर्ने उनको भनाइ छ ।