बैतडी । बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि शीपमूलक तालीम सञ्चालन गरिरहेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले शीपमूलक तालीम सञ्चालनमा प्राथमिकता दिएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।
हाल वडा नं ४ मा तीनमहीने आधारभूत सिलाइकटाइ र सातदिने व्यावसायिक शीप विकास कुखुरापालन तालीम सञ्चालनमा छ । सिलाइकटाइ तालीम जीवन उपयोगी हुने भएकाले नगरले यस्ता कार्यक्रमलाई प्राथमिकतामा दिएको हो ।
सिलाइकटाइ तालीमका लागि वडाले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष हर्कबहादुर चन्द जानकारी दिए । साथै नगरपालिका–७ मा महिलाका लागि सातदिने नेतृत्व तथा शीप विकास तालीम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय तथा सामाजिक विकास कार्यालय बैतडीको संयुक्त आयोजनामा तालीम सम्पन्न भएको हो ।
तालीममा आर्थिक स्थिति कमजोर भएका तथा एकल महिलालाई सहभागी गराइएको थियो । उनीहरूलाई स्वस्थ पोषण तरकारी खेतीको महत्त्व, तरकारीमा गहुँतको प्रयोग, मौसमी र बेमौसमी तरकारीखेती प्रविधि लगायत विषयमा जानकारी दिइएको थियो । तालीममा सहभागी महिलाको आर्थिक स्थिति सुधार र आयआर्जनका लागि सामाजिक विकास कार्यालय बैतडीले अनुदानस्वरूप रू. २० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । तालीममा पालिकाभरिका २० महिलाको सहभागिता थियो । रासस